मेची अस्पताल : २०३५ सालको दरबन्दीले अहिलेसम्म सेवा (भिडियो रिपोर्टसहित)
१७ साउन २०७९ झापा । झापाको मेची अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी र चिकित्सक नहुँदा सेवाग्राही मारमा परेका छन । मेडिकल काउन्सिलको नियमअनुसार एक जना चिकित्सकले दिनमा बढीमा ३० देखि ५० बिरामी हेर्नु पर्छ । तर, मेची अस्पतालमा एक चिकित्सकले एक दिनमा दुई सय जना बिरामी हेर्नुपर्ने अवस्था छ ।
झापास्थित मेची अस्पतालमा सेवाग्राहीको चाप अनुसार कर्मचारी र चिकित्सक नहुँदा सेवाग्राहीले समस्या व्यहोर्नु परेको छ । अस्पतालमा अहिले पनि २०३५ सालमा स्थापना हुँदाकै दरवन्दी कायम कायम छ । यसले सेवाग्राहीको चाप धान्ने अवस्था छैन ।
२०३५ सालमा नेपालको जनसंख्या डेढ करोडको हाराहारीमा थियो । अहिले त्यो संख्या बढेर तीन करोड नजिक पुगेको छ । त्यही अनुपातमा बिरामीको संख्या पनि बढिरहेको छ । तर, सरकारले अस्पतालमा जनशक्ति थप गर्नेतर्फ कुनै चासो दिएको छैन । जसको मार सेवाग्राहीले भोग्नु परेको छ ।
५० शैय्याको अस्पतालमा अहिले विभिन्न विभागमा एक सय ३४ जना भर्ना भएर उपचार गराइरहेका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार एक जना चिकित्सकले दिनमा बढीमा ३० देखि ५० विरामीलाई जाँच गर्न सके सेवाग्राहीले गुणस्तरीय सेवा पाउन सक्छन् । तर, मेची अस्पतालमा एउटा चिकित्सकले एक दिनमा दुई सय जना बिरामी हेर्नुपरेको छ ।
आर्थिक वर्ष २०७८–८९ मा मेची अस्पतालमा झण्डै डेढ लाख बिरामीले सेवा लिएका छन् । यस अनुसार औशतमा दैनिक चार सय १० बिरामी मेची अस्पताल पुग्छन् । तर, आजकाल नौ सयदेखि एघार सयसम्म पनि पुग्ने गरेको छ । मेची अस्पताल प्रदेशको मातहतमा छ । नागरिकलाई गुणस्तरीय सेवा दिनका लागि प्रदेश सरकारले चासो दिनुपर्ने माग अस्पतालको छ ।
प्रतिक्रिया