भेरी अस्पतालमा रगत पाउनै मुश्किल, रकम नहुनेको झनै बेहाल (भिडियो रिपोर्टसहित)

२०७९ साउन १६ गते १४:२४
भेरी अस्पतालमा रगत पाउनै मुश्किल, रकम नहुनेको झनै बेहाल (भिडियो रिपोर्टसहित)

१६ साउन २०७९ बाँके । केन्द्र सरकारअन्तर्गत रहेको भेरी अस्पतालमा उपचार गराउन आउनेहरु रगत अभावका कारण समस्यामा परेका छन् । थारु समुदायमा लाग्ने थालेसिमिया रोगको उपचारका लागि महिनाको कम्तिमा दुई पिन्ट रगत चढाउनुपर्छ । तर, अस्पतालको रक्तसंचार केन्द्रमा रगतको कमी, त्यसमाथि विभिन्न परीक्षण गर्नु पर्दा निम्न आर्थिकस्तरका बिरामी मारमा छन् ।

सगुनी थारूकी छोरी, बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट थालेसिमियाको उपचारका लागि भेरी अस्पतालमा आइपुग्नुभएको हो । यो रोगको उपचारका लागि उहाँलाइ चार पिन्ट रगत आवश्यक परेको छ । त्यसका लागि सगुनी अस्पताल परिसरमा रहेको रक्त सञ्चार केन्द्रमा पुग्नुभयो तर, केन्द्रको रगत अभाव रहेको जवाफबाट निराश बनायो ।

हार नमानेकी सगुनीले नेपालगञ्जमा आफ्नो कोही नभएको बताएपछि रक्त संचार केन्द्र प्रति पिन्ट एक हजारका दरले रकम लिएर रगत दिन तयार भयो । पाँच वर्षदेखि निरन्तर छोरीको उपचार गराउँदै आएकी सगुनीको आर्थिक स्थिति निकै कमजोर छ ।

थालेसिमिया रोग विषेशगरी थारु समुदायलाई लाग्ने वंशाणुगत रोग हो । सरकारले यसको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । तर, खेतीकिसानी गरेर जीवन गुजारा गर्दै आएका उनीहरुलाई एक पिन्ट रगतका लागि एक हजार र उपचारका लागि अस्पताल धाउनसमेत मुस्किल पर्छ ।

भेरी अस्पतालको इमरजेन्सीमा दैनिक औसत ६–७ जना रगत चढाउनुपर्ने बिरामी आउने गरेका छन् । थालसेमिया भएका बिरामीहरुको शरीरमा रगत बन्ने प्रक्रियामै समस्या हुने भएकाले हरेक २० देखि ४५ दिनको अन्तरमा नियमित रुपमा रगत चढाउनुपर्ने चिकित्सक बताउँछन् ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशभरका अस्पतालमा रगत निःशुल्क गर्ने व्यवस्था गरेको छ । प्रदेश अन्तरगत चल्ने अस्पतालमा निःशुल्क रगत पाए पनि संघीय सरकार अन्तरगत रहेको भेरी अस्पतालमा भने निःशुल्क रगत पाइँदैन ।

भेरी अस्पतालमा दैनिक ४० देखि ५० पिन्ट रगतको माग छ । एकातिर रक्तदाताको कमी त्यसमाथि विभिन्न परीक्षण गर्नु परेकाले रगतको मूल्य तिर्नु परेको रक्तसंचार केन्द्रको भनाइ छ । विपन्न नागरिकले कसरी उपचार गर्ने ? संविधानले निःशुल्क स्वास्थ्य भने पनि आम नागरिकले उपचार पाउन शुल्क तिर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *