बागलुङमा लागू औषध प्रयोगकर्ता यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

२०७९ साउन १४ गते १४:२३
बागलुङमा लागू औषध प्रयोगकर्ता यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

१४ साउन २०७९ बागलुङ । बागलुङमा पछिल्लो समय लागूऔषध प्रयोगकर्ता बढ्दै गएका छन् । कारोबारीले प्रहरीको आँखा छल्दै जिल्लासम्म लागूऔषध भित्राउने गरेपछि प्रयोगकर्ता बढेका हुन् । लागूऔषध नियन्त्रण गर्न प्रहरीले विभिन्न कार्यक्रम संचालन गरे पनि त्यसको प्रभाव न्यून देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले असार २० गते दिउँसो १ बजे बुटवलबाट बागलुङ आएको बसमा छापा मार्‍यो । बागलुङ नगरपालिका–३ मा रहेको चिप्लेटी बसपार्कमा लु १ ख ५३५६ नम्बरको बसमा छापा मार्दा प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गर्‍यो ।

कुल २ हजार ६ सय ४६ एम्पुल लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गर्‍यो । बागलुङमा एकैपटकमा यति ठूलो मात्रामा लागूऔषध बरामद भएको यो पहिलो घटना हो । घटनाबाट के थाहा हुन्छ भने बागलुङमा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । प्रहरीको आँखा छलेर बुटवल, भैरहवा लगायतका ठाउँबाट लागूऔषध भित्रिने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा डाईजेपाम, फेनार्गन र नुर्फिन गरी २,९५६ एम्पुल, ७४ केजी ७५० ग्राम गाँजा, २ वटा गाँजा प्रशोधन गर्ने मेसिन र ३ केजी ९०० ग्राम चरेश नियन्त्रणमा लिइएको थियो । घटनामा संलग्न रहेको भन्दै १८ पुरुष र २ महिलालाई प्रहरीले पक्राउ गरी कानूनी दायरमा ल्याएको छ । लागूऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कार्यक्रम गर्ने गरेको छ । तर, लागूऔषध प्रयोगकर्ता भने दिनानुदिन बढिरहेका छन् ।

लागूऔषध सेवनकर्तामा एचआईभी संक्रमण फैलने सम्भावना कम गर्न सघन–क्षति न्यूनीकरण “ड्रप ईन सेन्टर” अर्थात डिआइसी कार्यक्रम संचालन भएको छ । सो कार्यक्रमबाट २१६ जना लागूऔषध प्रयोगकर्ताले विभिन्न समयमा सुई लिने गरेका छन् ।

लागूऔषधको सेवन गर्नेमा धेरैजसो १८ देखि २४ वर्ष उमेर समूहका युवा रहेको र महिलाको संख्या पनि बढ्दै गएको ड्रप ईन सेन्टरले जनाएको छ । दुर्व्यसनी नियन्त्रणमा सरोकारवाला निकायले ध्यान नदिने हो भने समस्या थप जटिल बन्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *