ज्योतिनगरवासीलाई पहिरोको डर

२०७९ साउन १० गते २०:३७
ज्योतिनगरवासीलाई पहिरोको डर

१० साउन २०७९ रुपन्देही । गत वर्ष चुरेबाट आएको पहिरोले क्षति पुर्‍याएको बुटवलको ज्योतिनगरका स्थानीय अहिले पनि आनन्दले सुत्न पाएका छैनन् । त्यतिबेला पहिरोमा परी दुई दर्जन भन्दा बढी घरमा क्षति पुगेको थियो ।

पीडितले स्थानीयदेखि संघीय सरकारसम्म गुहारे । तर अहिलेसम्म पनि कतैबाट सुनुवाइ नभएपछि स्थानीय त्राससँगै अनिँदो बस्न बाध्य भएका हुन् ।

विष्णुकुमारी रायमाझी र सावित्रा अर्यालको घर बुटवलको ज्योतिनगरमा छ । उहाँहरुले २०६५ सालमा जग्गा किनेर दुई वर्षअघि मात्र घर बनाउनु भएको थियो । चुरेको काखमा रहेको यो स्थान कुनै समय बस्नका लागि निकै उपयुक्त स्थान मानिन्थ्यो । तर, गत वर्ष आएको पहिरोले धेरै घरमा क्षति पुर्‍याएपछि स्थानीयलाई यहाँ घर बनाएकोमा पछुतो लागिरहेको छ । तराईको गर्मी बिर्साउने शीतल हावापानीयुक्त ज्योतिनगरमा घर बनाएका रायमाझी र अर्याललगायतका परिवार वर्षा लागेसँगै त्रसित भएर बस्न बाध्य छ ।

यही स्थानमा जनज्योति आधारभूत विद्यालय पनि छ । ४० जना विद्यार्थी अध्ययनरत विद्यालय पनि पहिरोको जोखिममा छ । त्रासकै कारण विद्यालय पढ्न जाने विद्यार्थीको संख्या पनि निकै कम हुने गरेको छ । वरिपरी पर्खाल लगाएर सुरक्षित बनाउने प्रयास गरिए त्यसले त्रास कम गर्न भने सकेको देखिँदैन । जोखिमकै कारण विद्यार्थीले विद्यालयसमेत छाडिसकेका छन् । नयाँ आउने त कुरै भएन ।

गत वर्ष भदौ ११ , १३ र असोज ४ गते चुरेबाट पहिरो खस्दा विद्यालयसहित दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको थियो । यस्तै घटना २०५५ साल भदौ २० गते पनि भएको थियो । जुन बेला पाँच दर्जन घरमा क्षति पुगेको थियो ।

त्यसयता यो ठाउँ जोखिमयुक्त मानिए पनि दिनप्रतिदिन बस्ती भने बढ्दै गएको छ । पहिरो रोक्न सामान्य प्रयास भए पनि त्यसमा भर पर्न सकिने अवस्था छैन । पहिरो रोकथामका लागि पालिकास्तरबाट सकिने काम भने भइरहेको उपमहानगरपालिकाले बताएको छ ।

जापानी सहयोग एजेन्सी ९जाइका०ले गरेको अध्ययनले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै ठूला रुख काट्न सुझाव दिएको थियो । तर, त्यो सुझाव कार्यान्वयन नहुँदा अहिले ज्योतिनगरका स्थानीय त्रासमा बाँच्न विवश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *