धनकुटाको साँगुरीगढीमा जमिन विस्फोट भएर पानीको मुल फुटेपछि… (भिडियो रिपोर्टसहित)

२०७९ साउन १० गते २०:२४
धनकुटाको साँगुरीगढीमा जमिन विस्फोट भएर पानीको मुल फुटेपछि… (भिडियो रिपोर्टसहित)

१० साउन २०७९ धनकुटा । हिउँदमा जमिनमुनिबाट लेदो पानी निस्कने र वर्षातमा धाँजा फाटेर भासिने क्रम नरोकिएपछि धनकुटाको साँगुरीगढी गाउँपालिका तुङ्खाका बासिन्दा त्रसित छन् । आफ्नो समस्या सरकारले कहिले सुन्ला र सुरक्षित स्थानमा जान पाइएला भनेर उनीहरु बसिरहेका छन् ।

गत कात्तिकमा धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ की आशमाया याक्खाको बारीमा विस्फोटको आवाजसहित पानीको मूल फुट्यो । त्यसपछि जग्गामा धाँजा फाट्न थाल्यो ।

जमिन फाट्ने क्रम निरन्तर रहँदा घरसमेत चर्कियो । ज्यान नै जोखिममा परेपछि दुई परिवार अन्यत्रै बसाईं सरिसके । तर, त्यहीँका अरु ४१ घरपरिवार जोखिम मोलेरै बसिरहेका छन् । धाँजा फाट्ने क्रम नरोकिएको भन्दै जिल्ला प्रशासनमा जानकारी पठाएका उनीहरुको समस्याको सुनुवाइ भएको छैन ।

गाउँपालिकाले पनि स्थानीयको समस्या जिल्लाको विपद् व्यवस्थापन समितिमा जानकारी गराइसकेको छ । जिल्ला प्रशासनले पनि गत चैतमै माथिल्लो निकायलाई विज्ञ टोली झिकाउनका लागि पत्राचार गरिसकेको छ । तर, माथिल्लो निकायबाट केही जवाफ आएको छैन ।

समयसँगै गाउँपालिकाको वडा नम्बर ५ र ६ मा जमिन फाट्ने र भासिने क्रम बढिरहेको छ । वर्षायाम शुरु भएसँगै पहिरोको त्रास अझ बढेको छ । स्थानीय चैनले सुत्न समेत पाएका छैनन्। सरकारी निकायले गरेको बेवास्ताले यहाँका बासिन्दाले चित्त दुखाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *