समाज

मिथिलाञ्चलमा मधुश्रावणी पर्व यस्तो रौनक (भिडियो रिपोर्टसहित)

२०७९ साउन १० गते १७:२१
मिथिलाञ्चलमा मधुश्रावणी पर्व यस्तो रौनक (भिडियो रिपोर्टसहित)

१० साउन २०७९ जनकपुरधाम । मिथिलाञ्चलमा धुमधामका साथ मधुश्रावणी पर्व चलिरहेको छ। यो वर्ष तराई मधेस र खासगरी मिथिलाञ्चलमा श्रावण कृष्णपक्ष पञ्चमीदेखि श्रावण शुक्ल पक्षको तृतीया तिथिसम्म मनाइने गर्दछ ।

मधुश्रावणी पर्वमा सोह्र श्रृङ्गार गरेकी नवविवाहिता ब्रतालुले परिवारजन र सखीसहेलीसँग गीत गाउने र पूजापाठ गरेर मनाउने गर्दछन् ।

नवविवाहित महिलाको पहिलो साउनमा मनाइने पर्व हो मधुश्रावणी । श्रावण कृष्ण पक्षको पञ्चमीदेखि शुक्ल पक्षको तृतीयासम्म मनाइने यो पर्व मिथिलाञ्चलका महिलाका लागि विशेष मानिन्छ । पर्व शुरु भएको दिनदेखि बेलुकी पाँच बज्ना साथ सोह्र श्रृङ्गारमा नवविवाहिता फूलको जोहो गर्न फूलबारीतिर लाग्छन । माइती र छिमेकी छोरी–बुहारीको समूहले गीत गाउँदै उनीहरुलाई साथ दिन्छ ।

माता जानकीले समेत यसरी साथी सहेलीसँग फूल बटुलेको जनविश्वास छ । फूलबारीबाट ल्याइएको फूल हरेक दिन बेलुकी घरमा पूजा गर्ने ठाउँमा राखेर विषहरा, नाग–नागिन, नेना–जोगना, महादेव–पार्वती र रति–कामदेवको कथा श्रवण गरी पुजापाठ गरिन्छ, हरेक कथामा कामोत्तेजना र प्रणयबारे चर्चा हुन्छ । यो पर्व विषेशगरी महिलाहरुले आफ्नो पतिको दीर्घायु र हितका लागि मनाउने गर्छन् ।

पर्वमा विशेष रूपमा सर्पको भय त्रास नहुने र भगवान शंकरसमेत प्रशन्न हुने विश्वाससहित विषहराको नामले पूजा गरिन्छ । पर्वको अन्तिम दिन श्रीमानले बर्तालुको हात बाँध्ने र विधिकर्मा अर्थात जेष्ठ महिलाले घ्यूले बलेको आगोले महिलाको घुँडामा पोल्छन् । यसरी पोल्दा जस्को शरीरमा ठूलो घाउ हुन्छ उ नै बढी पतिव्रता हुने जनविश्वास छ । श्रीमान् श्रीमतीको एक अर्काप्रतिको मायाको जाँच एकतर्फी हुन नहुने आवाज पनि उठ्न थालेका छन् ।

तराईका कायस्थ, भूमिहार, मैथिली ब्राह्मण, सोनार र नागवंशी लगायतका सीमित जातजातिका समुदायले मात्र यो विधि पालना गर्छन् । भर्खरै विवाह गरेर ल्याएकी श्रीमतीलाई आफैंले हात समाएर पोल्ने पीडादायी क्षण श्रीमानका लागि पनि निकै कष्टकर हुन्छ । यसको विकल्प खोज्नु पर्ने आवाज पनि उठिरहेको छ । तर केही महिला भने यो परम्परा भएको भन्दै विधिलाई स्वीकार गर्नुपर्ने बताउँछन् ।

जीवनमा एक पटक मात्र मनाउने यो पर्व मिथिलाका सीमित समुदायले मात्र मनाउने गर्छन् । मधु अर्थात मीठो र श्रावणी अर्थात बर्षातको महिना, पश्चिमा संस्कृति हनिमुन अर्थात प्रणयोत्सवको रुपमा पनि मधुश्रावणी पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *