परिवारको साथमा गाउँमै काम गरेर प्रशस्त पैसा र आत्मसन्तुष्टि

२०७९ साउन ६ गते १३:२१
परिवारको साथमा गाउँमै काम गरेर प्रशस्त पैसा र आत्मसन्तुष्टि

६ साउन २०७९ बागमती । केही बढी कमाइका लागि ‘सुन’ फल्ने गाउँ र आफ्नो मातृभूमिसमेत छाडेर हिँडनेलाई परिवारसँगै गाउँमै बसेर काम गरे प्रशस्त पैसा र आत्मसन्तुष्टि कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ मकवानपुरका एक युवा ।

‘वन मेन आर्मी’ चलचित्रमा एकै पात्रले धेरै समस्याको समाधान निकाल्ने तथा थुप्रै खलपात्रलाई परास्त गर्नसक्ने नायक जस्तै यथार्थताको धर्तीको माटोमा खेल्ने र माटोमै रमाउने कृषि नायक हुनुहुन्छ मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–५ छबेलीका ३६ वर्षीय दीपक पुडासैनी ।

कृषि उद्यमी, कुखुरापालक, बङ्गुरपालक, हरितगृह मिस्त्री, कम्प्युटर प्रशिक्षक, कम्प्युटर मेकानिक, पावर टिलर चालक, पावर टिलर मेकानिक, कृषि प्रशिक्षकजस्ता धेरै काममा दक्ष मात्र होइन, ती सबै कामलाई पेसाका रूपमा उहाँले अँगाल्नुभएको छ । पुडासैनीको मासु पसल पनि छ । त्यहाँ उहाँ आफैले उत्पादन गरेको कुखुरा काटेर बेचिन्छ ।

पुडासैनीसँग प्रशस्त जग्गा, जमिन छैन तर पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझै उहाँको कृषिमा क्रान्ति गर्ने रहरलाई जग्गा अभावले रोकेन । आफ्नो तीन रोपनी र थप १५ रोपनी जमिन भाडामा लिएर पुडासैनीले मौसमअनुसारका तरकारी उत्पादन गरी वार्षिक रु २५ लाखसम्मको कारोबार गर्नुहुन्छ । आम्दानीमध्ये खर्च कटाएर मासिक रु ६० देखि ७० हजारसम्मको बचत हुने बताउँदै उहाँ मौसम, बजार र अन्य केही कुराले साथ दिए त्यो आम्दानी बढ्न पनि सक्ने उल्लेख गर्नुहुन्छ ।

“समय र मौसमको ख्याल गर्न चुक्यो भने घाटा पनि बेहोर्नुपर्ने रहेछ । बजारमा कुन महिना के तरकारी निकाल्दा भाउ पाउन सकिन्छ भन्ने अनुमान भएन भने उत्पादनले मूल्य नपाउन सक्छ”, उहाँ भन्नुहुन्छ, पुडासैनीका सफा टनेलभित्रका सप्रिएका बिरुवा अनि लटरम्म फलेका तरकारी र पाकेका गोलभेँडाले समृद्ध नेपालको मूल आधार कृषि नै हो भनेझैँ गरी लोभ्याएका छन् । अनि त्यहाँ खनजोत र गोडमेल गरिरहनुभएका उहाँलाई देखेपछि लाग्छ कृषिजति सम्मानित अरु पेसा नै छैन ।

पुडासैनीकी श्रीमती दीपिका पनि टनेल खेतीबाट सन्तुष्ट हुनुहुन्छ । छ–सात वर्षदेखि नै आफूहरूले तरकारी खेती गर्दै आइरहेको भए पनि टनेलमा रोग कम लाग्ने पानी, हावाहुरी तथा सामान्य असिनाबाट समेत जोगाउन सकिने र तापक्रम व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ । गोडमेल गर्न, मलखाद हाल्न, चिस्यानको व्यवस्थापन गर्न, उत्पादन टिप्नलगायत धेरै काम गर्न सजिलो हुनाका साथै बीउबिजन मललगायतको आँकलन गर्न पनि सजिलो भएको अनुभव दीपिकासँग छ ।

पत्रकारितामा स्नातक गर्नुभएका तथा कम्युटरको प्रशिक्षक प्रशिक्षण गरी कम्प्युटर शिक्षालय सञ्चालन गर्नुभएका पुडासैनीले जीवनमा नगरेका काम थोरै मात्रै बाँकी होलान् तर उहाँलाई आत्मसन्तुष्टिसँगै मनग्य आम्दानी दिने पेसा भने कृषि बन्न पुग्यो । थोरै कुखुरा पालेर सुरु भएको पुडासैनीको कृषिकर्म आज देशमा ‘केही छैन, केही गर्न सकिन्न र केही पनि हुन्न भन्ने जमातका लागि यो देशमा सबैथोक छ तर, जाँगर र लगन आवश्यक छ भन्ने’ गतिलो उदाहरण बन्न पुगेको छ ।

पुडासैनीले विभिन्न प्रकारका तरकारी तितेकरेला, काउली, बन्दा, गाँठेकोभी, गोलभेँडा, भेडे खुर्सानी, गाँजर, माछे खुर्सानी, काक्रोसँगै दैनिक सयौँ किलोग्राम च्याउ उत्पादन गर्नुहुन्छ । ब्रोइलर कुखुराको सङ्ख्या घटाएको कारण आफैँले खोलेको मासु पसलमा काटेर र एक–दुईवटा कुखुरा चाहिने स्थानीय ग्राहकलाई मात्र बेच्नुहुन्छ । यसो गर्दा मूल्य पनि बढी नै आउँछ । पुडासैनी कुनै पनि काम सानो हुन्न भन्ने मान्यता राख्नुहुन्छ ।

उहाँ हाते ट्र्याक्टर (पावर टिलर) लिएर स्थानीयवासीका खेतबारी प्रतिघण्टा ज्याला लिने गरी जोतिदिने पनि गर्नुहुन्छ, कसैको हाते ट्र्याक्टर बिग्रिए बनाउने काम पनि गर्नुहुन्छ, निश्चित रकम लिएर हरितगृह (टनेल) बनाइदिने तथा प्रशिक्षण दिने कामसमेत गर्नुहुन्छ । उहाँ कम्प्युटर प्रशिक्षक तथा मेकानिक्स पनि हो । समय मिलेसम्म पुडासैनी स्थानीयवासीका कम्प्युटर मर्मत गर्न पनि पुग्नुहुन्छ । भीमफेदीमा पहिलो कम्प्युटर प्रशिक्षण केन्द्र तथा साइबर उहाँकै थियो । जुन हाल पनि अलिअलि चल्दै छ ।

कृषि उत्पादनमा लागेर राम्रै आम्दानी गरिरहनु भए पनि केही थप व्यवस्था राज्यका तर्फबाट भइदिने हो भने अझै आम्दानी बढाउन सकिने पुडासैनी बताउनुहुन्छ । बजार अहिले पनि विचौलियाको कब्जामा रहेको, आफ्नो उत्पादनको मूल्य व्यपारीले नै तोक्ने गरेको, सुरक्षित भण्डारणका लागि शीतभण्डार अभाव रहेको आदि उहाँले झेल्नुभएका समस्या हुन् । मल, बीउ तथा अन्य कृषि सामग्रीको मूल्यको नियमन तथा नियन्त्रण गर्नुपर्ने, मल, बीउ आदि सहजरुपले उपलब्ध गराउनुपर्नेलगायत माग पुडासैनीले भेटे जति निकायमा राख्ने गर्नुभएको रहेछ तर सबैतिरबाट आश्वासन आए पनि कार्यान्वय भने सन्तोषजनक नभएको उहाँको गुनासो छ । अर्को महत्वपूर्ण कुराचाहिँ नेपालमा बालीनालीमा लाग्ने रोग तथा किराफट्याङ्ग्रा नियन्त्रणमा गहिरो अनुसन्धान हुन नसकेकामा आफूलाई दुःख लाग्ने गरेको पुडासैनी बताउनुहुन्छ ।

नेपालका रैथाने च्याउ अनुसन्धान गरेर त्यसको बीउ उत्पादन गर्ने र व्यावसायिक खेती गर्ने हो भने मनग्य आम्दानी गर्न सकिनेमा त्यसो हुन नसकेको पनि उहाँ बताउनुहुन्छ । “उहाँ मिहेनतको पर्याय हो, कामप्रति मरिहत्ते गर्ने बानीले पुडासैनीलाई सफल बनाउँदै छ”, भीमफेदी गाउँपालिकाका पूर्वउपाध्यक्ष पार्वती राना भन्नुहुन्छ । पुडासैनीको मिहेनतको कदर गर्दै आफ्नो कार्यकालमा गाउँपालिकाले कृषि प्रवद्र्धनमा सहयोग गरेको उहाँ उल्लेख गर्नुहुन्छ ।

कृषि व्यवसाय गरेर प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका पुडासैनीको कामप्रति उहाँका साथीभाइ पनि खुसी छन् । पुडासैनीसँग टनेलमा भेटिनुभएका स्थानीय बिसु सुनार आफू पुडासैनीको काम देखेर प्रभावित भएको बताउनुहुन्छ । उहाँले कृषिबाट मनग्य आम्दानी गरिरहनुभएको छ । “राम्ररी लाग्ने हो भने कृषिमा प्रचुर सम्भावना रहेछ भन्ने उदाहरण देखाउनुभएको छ”, सुनार भन्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *