गड्डाचौकी हेल्थ डेस्कमा कर्मचारी अभाव

४ साउन २०७९ कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारी अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरुको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् ।
हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन् । यसअघि १२ जना कर्मचारी कार्यरत रहेका थिए ।
“चारजना कर्मचारी थप माग गरेका छौँ”, भट्टले भन्नुभयो, “अहिलेसम्म कर्मचारीको व्यवस्था गरिएको छैन ।” थोरै जनशक्ति परिचालन गरी कार्य गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
भारतबाट फर्कने यात्रुहरुको एन्टिजेन परीक्षणको कार्य भइरहेको उहाँले बताउनुभयो । एक सातामै १० जना भारतबाट फर्केका यात्रुहरुको एन्टिजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ ।
“हिजो मात्रै सात जनाको नतिजा पोजेटिभ आयो,” उहाँले भन्नुभयो, “त्यसअघि तीन जनाको नतिजा पोजेटिभ आएको थियो ।” उहाँले स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया