तार टाँगे पनि बाजुरामा बलेन बिजुली (भिडियो रिपोर्टसहित)

२०७९ साउन २ गते २०:५१
तार टाँगे पनि बाजुरामा बलेन बिजुली (भिडियो रिपोर्टसहित)

२ साउन २०७९ बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयका घरघरमा बिजुलीको तार टाँगिएको ८ वर्ष भै सक्यो । तर बिजुली कहिलेकाहीँ मात्र आउँदा सेवाग्राहीको दैनिकी कठिन बन्ने गरेको छ । वर्षातको समयमा बिजुली नआउने र सानो समस्या आउँदा पनि बन्नका लागि लामो समय लाग्ने हुँदा समस्या हुने गरेको हो ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ र ४ का ४५ घरपरिवारका लागि बार्जुगाड जलविद्युत आयोजना संचालन गरियो । २०७१ सालमा विद्युत प्रवाह शुरु गरेको आयोजनाबाट ४० किलोवाट बिजुली उत्पादन हुन्छ ।

आयोजना सञ्चालनपछि सल्लाको झरो र टुकी बाल्दै आएका स्थानीय बिजुली बाल्न पाएपछि खुसी बनेका थिए । तर, लामो समय बिजुली जाने समस्याले नागरिकलाई चिन्तित बनाएको छ ।

भिरालो जमिन भएका कारण ठाउँठाउँमा नहर भत्किएको छ । नहरको दुबैतर्फ सडक हुँदा नहर भत्किने गरेको र पावरहाउसमा अपरेटरहरु नियमित नबस्दा पनि समस्या भएको संचालक समितिले जनाएको छ । सामान्य वर्षातमा पनि नहरमा माटो, बालुवा र सानो मुडाहरु आउने भएकाले पनि समस्या भएको संचालक समितिको भनाइ छ ।

विद्युत अनियमित भएको विषयमा स्थानीय सरकार पनि जानकार छ । सामान्य तवरबाट समस्या समाधान खोज्नेभन्दा पनि दीर्घकालीन समाधानका लागि योजना बनिरहेको स्थानीय सरकारको दाबी छ । तर लामो समयदेखिको ढिलासुस्तीले झनै समस्या थपिँदै गएकाले चाँडोभन्दा चाँडो समस्या समाधान हुनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *