भोजपुर अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामी थप समस्यामा (भिडियो रिपोर्टसहित)

२०७९ असार ३२ गते १६:४७
भोजपुर अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामी थप समस्यामा (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ भोजपुर । जिल्ला अस्पताल भोजपुरमा दरबन्दीअनुसार डाक्टर नहुँदा उपचार सेवा प्रभावित बनेको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी पदपूर्ति नहुँदा उपचारका लागि आउने बिरामी समस्यामा पर्ने गरेका हुन् ।

पहाडी जिल्ला भोजपुरका ग्रामीण भेगबाट नागरिक उपचारका लागि घण्टौं हिडेर सदरमुकामस्थित अस्पताल आइपुग्छन् । तर, चिकित्सक अभावका कारण बिरामीले छिटो छरितो सेवा पाउन सकेका छैनन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पदपूर्तिका लागि सरकारले चासो नदिँदा नागरिकलाई समस्या छ ।

तीन महिनादेखि दुई जना एमबीबीएस डक्टरले अस्पताल चलाइरहेका छन् । तीनै डक्टरले ओपीडी, इमर्जेन्सी, शल्यक्रियालगायत सबै सेवा हेर्नुपर्ने बाध्यताका कारण सेवाग्राहीले समयमा उपचार सेवा पाउन नसकेका हुन् । कहिलेकाँही एक जना चिकित्सक विदा बसेको वा कुनै कामले बाहिर जान परेका बेला त सेवा दिन नै भ्याइ नभ्याई हुन्छ ।

अस्पतालमा एकजना नवौँ तहको मेसु, दुईजना मेडिकल अधिकृत, एकजना एचए, दुईजना अहेब, चारजना स्टाफ नर्स र दुईजना अनमीको दरबन्दी खाली छ । यसको व्यहोरा जानकारी गराएर मन्त्रालयलाई पत्र पठाइएपनि कुनै जवाफ नआएको अस्पतालका सूचना अधिकारी उदयकुमार चौधरीको भनाई छ ।

जनशक्ति कम भए पनि गम्भिर किसिमका विरामीको शल्यक्रिया र प्रसुति सेवालाई पहिलो प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको अस्पतालले जनाएको छ ।

चिकित्सक अभावमा अहिले हप्तामा १५ जनासम्म बिरामीहरु रेफर गरिरहनु परेको छ । सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिने नीति लिए पनि दूर्गम क्षेत्रका नागरिक भने आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *