पुर्खाले सञ्चालन गरेका खानी : अहिले यस्तो उपेक्षा किन ? (भिडियो रिपोर्टसहित)
२८ असार २०७९ बागलुङ । बागलुङमा सुन, तामा र फलाम, चुनढुंगा, रत्न, पत्थर क्वार्ज, स्लेट ढुंगालगायतका खानी छन् । तर, हालसम्म पनि ति खानीहरु उत्खनन् गरिएको छैन । उत्खननका लागि सरकारले चासो पनि देखाएको पाइँदैन ।
बागलुङका कतिपय गाउँको नाम खानी भएका आधारमा राखिएको छ । पाण्डवखानी, सिसाखानी, राङखानी, खुङखानी, नर्जाखानी लगायतको नाम त्यहाँ भएका खानीका आधारमा रहेको हो । यहाँ खनिज पदार्थ सुन, तामा र फलाम तथा गैरखनिज चुनढुंगा, रत्न, पत्थर क्वार्ज, स्टेल ढुंगाका खानी छन् । तर गाउँगाउँमा रहेका यी खानीहरु उत्खनन् गर्न सकिएको छैन । तर धेरै दशकौं अगाडि यी खानीहरु खोस्रिएको दागहरु भने देख्न सकिन्छ ।
स्थानीय स्रोत साधानको उपभोग गर्दै स्रोत बढाउन भूमिका खेल्नका लागि नै तीन तहको सरकार बनाए पनि कुनै सरकारले यो विषयमा आफ्नो ध्यान पुर्याउन सकेको छैन ।
झन्झटिलो दर्ता प्रक्रिया, मजदुरको असुरक्षा, ढुवानीको असुविधा लगायतका समस्याको समाधान नहुँदा पनि खानी अलपत्र परेका हुन् । स्थानीय जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने खानीहरु संचालनमा ल्याउन नागरिकले माग गरिरहेका छन् ।
दशकौं अगाडि यहाँ खानी उत्खनन् गरिन्थ्यो भन्छन्, यहाँका वृद्धद्धवृद्धहरु । बाग्लुङमा २२ वटा खानी संचालनमा थिए । त्यसको अवशेष अहिले पनि देख्न पाइन्छ । विभिन्न कारणले ती खानीहरु बन्द हुँदै गए । ति खानीहरु सञ्चालनमा ल्याउन पहल भएकै छैन ।
रोजगारी सृजना, कर तथा रोयल्टी साथै निर्यात गरी संचित रकममा वृद्धि गर्न यी खानी संचालनमा ल्याउनुपर्ने देखिन्छ । तर, तीनै तहको सरकारको ध्यान खानी उत्खननमा जान सकेको छैन ।
प्रतिक्रिया