पोखरा विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइटको व्यवस्थापन पेचिलो बन्दै ? (भिडियो रिपोर्टसहित)

२०७९ असार २६ गते १८:४८
पोखरा विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइटको व्यवस्थापन पेचिलो बन्दै ? (भिडियो रिपोर्टसहित)

२६ असार २०७९ पोखरा । पोखरा विमानस्थल सञ्चालनका लागि तयारी भइरहँदा विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइटको व्यवस्थापन पेचिलो बनेको छ । विमानस्थल आसपासमा ल्याण्डफिल साइट रहँदा गिद्धलगायतका पंछीहरुको आवतजावत हुने र विमानमा ठोक्किने खतरा हुन्छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको दुई किलोमिटर क्षेत्र आसपासमै २० वर्षदेखि ल्याण्डफिल साइट सञ्चालनमा छ । अहिले ल्याण्डफिल साइट सार्न पोखरा महानगरपालिकालाई दबाब परिरहेको छ । तर महानगरले उचित स्थान भने खोज्न सकिरहेको छैन । महानगरले गरेको अध्ययनले तीन वटा ठाउँ नयाँ ल्याण्डफिल साइटका लागि प्रस्ताव गरेको छ ।

तीमध्ये पहिलो प्राथमिकतामा पोखरा महानगरपालिकाको वडा नम्बर २० र १६ को सिमानामा पर्ने पस्मराङ छ। दोश्रोमा पोखरा वडा नम्बर ३३ को पुणिटार र तेश्रो विकल्पमा पोखरा १३ को काहुखोला र विजयपुरबीचको खण्डमा पर्ने ढाँडबेसी प्रस्तावित छ ।

सबै ठाउँमा स्थानीयले विरोध गरेपछि महानगरको अघिल्लो नेतृत्व पछि हटेको थियो । अहिले त वडा नम्बर ३३ का स्थानीयले फोहर फाल्ने ठाउँ बनाउन नदिन पटक पटक भेला र बैठक गरेरै विरोध गरिरहेका छन ।

एकातिर स्थानीयको दबाब र अर्कातिर महानगरका तर्फबाट वडा नम्बर ३३ मा नै ल्याण्डफिल साइट बनाउन स्वीकृत गराउनुपर्ने दोहोरो चेपुवामा वडाध्यक्ष परेका छन् ।

विमानस्थल बनाउन थालिएसँगै ल्याण्डफिल साइट सार्नुपर्छ भन्ने विषय उठिरहेको थियो तर झन्डै पाँच वर्ष कानमा तेल हालेर बसेर अन्तिम समयमा ल्याडफिल साइट सार्न खोज्दा महानगर आफैं रुमल्लिएको छ । अहिले फोहरलाई वर्गीकरण गरेर वडाको फोहर वडामै व्यवस्थापन गर्ने सोँचमा महानगर पुगेको छ । तर यसको सम्भाव्यता अध्ययन समेत महानगरपालिकाले गरेको छैन ।

महानगरको यो रवैया हेर्दा गौरबको आयोजना तयार हुँदा पनि हचुवाको भरमा काम गर्न खोजिएको देखिएको छ । अब दिगो समाधानका लागि पहल नहुँदा अर्बौ रुपैयाँ लगानी गरेर बनाएको विमानस्थल सञ्चालन गर्ने बेलामा ल्याण्डफिल साइटका कारण अवरोध हुन सक्ने खतरा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *