पेट्रोल पम्प: खतराको घन्टी (भिडियो रिपोर्टसहित)

२०७९ असार २४ गते २०:४९
पेट्रोल पम्प: खतराको घन्टी (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ बुटवल । बुटवल उपमहानगरपालिकाभित्र रहेका अधिकांश पेट्रोल पम्प घर–वस्तीसँगै जोडिएका छन । मापदण्डविपरीत सञ्चालन भइरहेका यस्ता पेट्रोल पम्पले खतराको घन्टी बजाइरहेका छन् । मापदण्डविपरीत भन्ने जान्दाजान्दै नियमन निकाय मौन छन् ।

बुटवलमा राजमार्गसँगै जोडिएका पेट्रोल पम्पहरु कतिपय घरभित्रै र घर नजिकै छन् । बुटवलको भारी आयल स्टोर त्यसको एक उदाहरण हो । सडक विस्तार हुनुपूर्व सर्भिस लेनमै रहेको यो पम्प अहिले बाटो विस्तारपछि घरभित्र सञ्चालित छ । नजिकै लहरै अरु घरहरु पनि छन् ।

पम्पमा केही दुर्घटना भइहाले नजिकका घरमा क्षति हुने निश्चित छ । भारी आयल स्टोर मात्र होइन, राजमार्ग चौराहा नजिकै रहेको भैरब आयल स्टोर, पाल्पा बसपार्कस्थित ज्योति पेट्रोल पम्प, रामनगरस्थित मिलन ब्रदर्स, भैरब पेट्रोल पम्प, गोलपार्कमा रहेको व्यापारिक कर्पोरेसन पनि घरसँगै जोडिएका छन । २०५३ सालअघि स्थापना भएका पम्पहरु अहिलेको मापदण्डमा आउन नसकेको पेट्रोलियम डिलर एसोसिएसनले पनि स्वीकार गर्दै आएको छ ।

पेट्रोल पम्पले मात्र होइन रुपन्देहीको भलवारीमा रहेको नेपाल आयाल लिगमको डिपोले पनि खतराको घण्टी बजाइरहेको छ । ४ बिघा ४ कठ्ठा जग्गामा २०३९ सालमा स्थापना भएको डिपो अहिले बढ्दो शहरीकरणले ठूलो जोखिम निम्त्याउने कारण बनेको छ ।

बजार क्षेत्रसँग जोडिएको यो डिपोमा कुनै पनि कारणले आगालागी भए बस्ती नै सखाप पार्नेछ । यस्ता जोखिम न्यूनिकरण गर्न निगमले भैरहवाको रोहोणी खोला छेउमा १४ बिघा जमिन खरिद गरे पनि निर्माणको काम भने सुरु भएको छैन ।

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ अनुसार राजमार्ग क्षेत्रमा साधारण पम्प चलाउन १० कठ्ठा जग्गा हुनुपर्छ । त्यस्तै शौचालय अपांगमैत्री, पुरुष र महिलाका लागि छुट्टै, मुख्य राजमार्गबाट नदेखिने गरी २ मिटरको अग्लो स्क्रिन वाल, चिया–कफी सप, एटिएम, हावा भर्ने र पार्किङ लगायतका सुविधा हुनुपर्ने मापदण्ड छ । विनियमावलीले तय गरेको मापदण्ड निकै कमले मात्रै पालना गरेका छन ।

रूपन्देहीमा हाल १ सय ४५ साधारण, १ नमूना र ३५ अन्य गरी १ सय ८१ पेट्रोल पम्प सञ्चालनमा छन् । घना बस्तीमा सञ्चालित पेट्रोल पम्पमा कुनै दुर्घटना भए त्यो नियन्त्रण बाहिर जानसक्ने भएकाले अवस्थाको अनुगमन र दूरदर्शी योजना बनाउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *