पद्यश्री साहित्य पुरस्कारका लागि १५ उत्कृष्ट कृतिको सूची सार्वजनिक
१५ असार २०७९ काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १ सय ४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको जनाएको छ । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष पद्यश्री साहित्य पुरस्कार र पद्यश्री साधना सम्मान प्रदान गर्दै आएको छ। प्रतिष्ठानले दिएको जानकारीअनुसार यो वर्षका उत्कृष्ट पुस्तकको सूचीमा डा नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि, राजवको काफ्काको काम सकियो, कविता राईको गुरु र लोकराज भट्टको छाइल रहेका छन् ।
त्यसैगरी दिलीप बान्तवाको ताल्चा, बल्लरी अलका आत्रयेको निनाद, राजेन्द्रमान डंगोलको पैतालामा हिउँ, आँखामा हिमाल, उषा हमालको भिक्षूसँग प्रेम, डा विप्लव ढकालको भोजपुरको बाङ्मय, बसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल विनाबीको यादहरूको संग्रहालय र गिरीश गिरीको सत्यमोहन रहेका छन् ।
प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । सिर्जना र स्रष्टा छनोट निर्णायक मण्डलमा समालोचक राम लोहनी, नयनराज पाण्डे र कुमारी लामा रहनु भएको छ ।
प्रतिष्ठानले यो वर्षदेखि सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक जनालाई पद्मश्री समाज सम्मान प्रदान गर्ने घोषणासमेत गरिसकेको छ ।
प्रतिक्रिया