राजनीति

लोसपा : चुनाव आउन लाग्यो, पार्टी एकताको सुरसार(भिडियो रिपोर्टसहित)

२०७९ असार १२ गते २०:५७
लोसपा : चुनाव आउन लाग्यो, पार्टी एकताको सुरसार(भिडियो रिपोर्टसहित)

१२ असार २०७९ काठमाडौं । मधेसलाई मुख्य आधार क्षेत्र मानेर राजनीति गरिरहेका दलहरुको टुटफुट र जुटको शिलशिला नयाँ होइन ।

सरकारमा सहभागी हुने, समर्थन गर्ने वा प्रतिपक्षमा बस्ने विषयकै कारण यी दलहरु फुटेका छन् भने कतिपय मधेसी जनताको आवाज मुखरित गर्दैगर्दा जुटेका पनि छन् । तर यतिबेला निर्वाचनको तयारी हुँदै गर्दा फेरि मधेस केन्द्रित दल एकताको गीत गाउन थालेका छन् ।

मधेसलाई जग बनाएर राजनीति गर्ने प्रायः दलहरु जुट र फुटमा अरु दलको तुलनामा अगाडि देखिन्छन् । ठूला आन्दोलनमा एक ठाउँमा आउने यी दलहरु स्थिर समयमा फुटमा पुग्छन् ।

यतिबेला स्थानीय निर्वाचनको समीक्षा र संघ तथा प्रदेशसभाको निर्वाचनको गृहकार्य भइरहँदा मधेस मुख्य आधार इलाका रहेका कतिपय दलहरुबीच एकीकरणदेखि विभाजनसम्मको चर्चा चलेको छ ।

सरकार निर्माणमा ठूला राजनीतिक दलको टेको बन्ने गरेका यी दललाई सरकारप्रति नतमस्तक हुने गरेको आरोप लाग्ने गरेको छ । कांग्रेस वा एमाले वा माओवादी केन्द्रको नेतृत्वमा गठन हुने सबैजसो सरकारमा कुनै न कुनै दलको नामबाट मधेस केन्द्रित दलहरु सहभागी भइरहेका छन् । त्यसैले यी दलहरुलाई सरकारलोलुप भएकै कारण एक ढिक्का भइरहन नसकेको र थप कमजोर भएको आरोप लाग्ने गरेको छ ।

विगतका अभ्यास हेर्ने हो भने संकटका बेला यी पार्टीहरु एक ठाउँमा उभिने गरेका छन् । यतिबेला मुलुक पुनः निर्वाचनको सम्मुखमा भएकाले अपेक्षित जित सुनिश्चितताका लागि मधेस केन्द्रित दलहरु एकताको रोडम्यापमा अघि बढ्दैछन् ।

मधेस केन्द्रित दलहरुले विगतदेखि नै संविधान संशोधनको एजेण्डा प्रमुखताका साथ उठाइरहेका छन् । संघीयतालाई बलियो बनाउन संविधानका कतिपय प्रावधान संशोधन गर्नुपर्ने सबैजसो मधेस केन्द्रित दलको आवाज छ । तर सरकारमा सहभागी हुँदै गर्दा त्यो आवाज पार्टी कार्यालयमै छाडेर जाने प्रवृत्तिले संविधान संशोधन खास एजेण्डा बनिरहेको देखिँदैन । नामको मात्र एजेण्डाका कारण दलहरुको प्रभावसमेत खस्किँदै गएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्