समाज

खुल्ला सीमाका कारण बाँकेमा लागु औषधको समस्या भयावह बन्दै (भिडियो रिपोर्टसहित)

२०७९ असार १२ गते १७:२४
खुल्ला सीमाका कारण  बाँकेमा लागु औषधको समस्या भयावह बन्दै (भिडियो रिपोर्टसहित)

१२ असार २०७९ बाँके । बाँके जिल्लामा लागु औषधको समस्या भयावह बन्दै गएको छ । खुल्ला सीमाका कारण लागु औषधको ओसारपसार भुसको आगो जसरी सल्किएको छ । सेवनकर्ताको संख्या बढेसँगै आपराधिक गतिविधि पनि बढिरहेको छ ।

लागूऔषधको दलदलबाट बाहिर निस्किएका अर्जुन कनौजियाको अनुभव हो यो । खुल्ला सीमा भएका कारण बाँकेको नेपालगञ्ज अहिले लागु औषधको हब जस्तै बनेको छ । दिनप्रतिदिन दुर्व्यशनीको संख्या बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष र बाँके कारागार लागु औषध सम्बन्धी मुद्दाका कैदीबन्दीले भरिन थालेका छन ।

चालु आर्थिक वर्षमा मात्रै बाँके प्रहरीले १ सय १२ वटा लागु औषधका मुद्दा दर्ता गरेर १० जना महिलासहित १ सय ८५ जनामाथि कानुनी कारबाही अगाडि बढाएको छ भने ठूलो मात्रामा लागुपद्धार्थ बरामद समेत गरेको छ ।

कारागार र हिरासतमात्र होइन, बाँकेमा पुनर्स्थापना केन्द्रहरुसमेत खचाखच भरिन थालेका छन् । अहिले बाँकेमा २० वटा रिह्याब सेन्टर संचालनमा छन् । ती रिह्याबबाट ३ देखि ६ महिनासम्म परामर्श र उपचार लिएर यो वर्ष मात्रै ५ सय ७५ जना डिस्चार्ज भएका छन् ।

अहिले पनि रिह्याब सेन्टरमा ३ सय १२ जना लागु औषधका प्रयोगकर्ता छन् । लागु औषधको प्रयोगकर्ता बढेसँगै आपराधिक गतिविधि पनि बढ्न थालेका छन् ।

बाँकेमा हुने आपराधिक घटनामा संलग्नमध्ये ७० प्रतिशत लागु औषधका दुव्र्यशनी हुने गरेका छन । पछिल्ला दिनहरुमा नेपालबाट अफिम र चरेश भारततर्फ जाने र भारतबाट ब्राउन सुगर नेपाल भित्रने गरेको छ ।

खुला सिमानाका कारण नेपालगञ्जका कतिपय युवा सिमावर्ती भारतीय बजारमा गएर लागु औषध सेवन गर्ने र ओसार पसार गर्ने कार्यमा संलग्न छन् । लागु औषधको दुर्व्यसनीबाट बाहिर निस्किएकाहरु अहिले सचेतना फैलाउने अभियानमा सक्रिय हुन थालेका छन् ।

लागु औषध नियन्त्रणका लागि प्रहरीले सीमामा कडाइ गरे पनि वैकल्पिक बाटोबाट लुकिछिपी ओसारपसार गर्ने कार्य रोकिएको छैन ।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागु औषधका प्रयोगकर्ता छन । लागु औषका प्रयोगकर्ताहरुको संख्या बर्सेनि करिब ११ प्रतिशतका दरले बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न कानुनमा कडाई गर्नुका साथै जनचेतना जगाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *