जलचरदेखि मानव जीवनमा यस्तो असर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ६ गते १७:१८
जलचरदेखि मानव जीवनमा यस्तो असर (भिडियो रिपोर्टसहित)

६ असार २०७९ बुटवल । बर्खायाममा उर्लिदो भेलले नदी किनारका बस्ती नै जोखिममा पार्ने रुपन्देहीको तिनाउ नदी यति बेला सुख्खा छ ।

राजस्व संकलनको लोभमा अवैज्ञानिक तरिकाले नदीजन्य पदार्थ उत्खनन् गर्दा नदीसँगै पानीको श्रोत पनि भासिएको छ । यसले जलचर प्राणीदेखि मानव जीवनमा असर गर्नुका साथै वातावरणीय संकट निम्त्याइरहेको छ ।

तिलोत्तमा १३ सेमरीकी लक्ष्मी कहारको चापकलमा पानी आउन छाडेको ४ वर्ष भयो । तिनाउ नदीमा पानीको श्रोत भासिदै जाँदा नदी आसपासका वस्तीका चापकलमा पानीआउँदैन । कुनै समय तिनाउको कलकल बग्ने पानीमा माछा मारेर जीविकोपार्जन गर्ने उँहाको दैनिकी तिनाउमा पानी सुक्दै गए पछि बदलिएको छ ।

तिनाउ नदी भासिँदै गएपछि उनीजस्तै धेरैको दैनिकीमा असर परेको छ । महाभारत पर्वतको फेदबाट चुरे पहाड छिचोल्दै तराई आइपुग्ने तिनाउ बुटवल आइपुग्दा साघुरिन्छ ।

बुटवलको तिनाउ पुल नजिकैबाट तिनाउ र दानव बनेर दुईतिर बग्दै गर्दा नदी झनै सानो बन्छ । बुटवलको देविनगरदेखि तिलोत्तमाको हरकट्टा घाटसम्मको भागमा नदीको सहत घट्दै गएको छ ।

२०४९ सालदेखि नदीको वहाव क्षेत्रमा बस्ती बस्न थाल्यो साथै नदीको दोहन पनि बढ्दै गयो । बुटवल क्षेत्रको तिनाउ नदी किनारमा करिब १६ हजार र तिलोत्तमा क्षेत्रको किनारमा करिब १० हजार जनसंख्याको बसोबास छ ।

स्थानीय सरकारले राजस्व संकलनको मूख्य श्रोत नदीजन्य पदार्थलाई बनाउँदा प्राकृतिक हिसाबले बग्ने नदी भासियो । खोला भरि चलेका स्काभेटरले विनाश निम्त्याइ रहेको विज्ञहरु बताउँछन् ।

स्थानीयको जीवन संस्कृति सित गाँसिएको तिनाउले बर्खायाममा वर्षेनी वितण्डा मच्याउँछ । नदी किनारका बस्ती बगाउनुका साथै कैयौंको धनजनको क्षति हुन्छ । क्षणिक लाभका लागि भै रहेको नदी अतिक्रमण नियन्त्रण नगर्ने हो भने सिंचाइ भइरहेका खेती योग्य जमीन बञ्जर बन्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *