Main News

त्रिचन्द्र कलेजको यस्तो बेहाल, ज्यान नै जोखिममा राखेर पढ्न बाध्य विद्यार्थी (भिडियो रिपोर्टसहित)

२०७९ असार ३ गते १४:५१
त्रिचन्द्र कलेजको यस्तो बेहाल, ज्यान नै जोखिममा राखेर पढ्न बाध्य विद्यार्थी (भिडियो रिपोर्टसहित)

३ असार २०७९ काठमाडौं । उच्च शिक्षाको जननी र नेपालकै जेठो त्रिचन्द्र कलेज, सरोकारवालाहरुको बेवास्ताका कारण अहिले अस्तित्व मेटिने जोखिममा पुगेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले भत्काएका भवनहरु आजसम्म पनि पुनर्निर्माण हुन नसक्दा, ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको कलेज धराशायी अवस्थामा पुगेको छ । भवनहरु जीर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु ज्यानकै जोखिम मोलेर पढ्न बाध्य छन् ।

चर्को नाराबाजी, कार्यकक्षमा तालाबन्दी, कर्मचारीको अनुपस्थिति, भग्नावेश संरचना अनि तमाम गतिविधिका साक्षी बन्दै वर्षौदेखि ठिङ्ग उभिएको बुढो घण्टाघर । यो नियति हो, उच्च शिक्षाको जननी र नेपालकै जेठो उच्च शिक्षालय, त्रिचन्द्र कलेजको ।

१०४ वर्ष लामो गौरवपूर्ण इतिहास बोकेको यो कलेज, अहिले भौतिक रूपमा जीर्ण अवस्थामा छ । यहाँ बर्खायाममा तपतप पानी चुहिन्छ, कक्षाकोठाभित्र लेउ लागेको छ, भित्ताहरु चौतर्फी जंगली झारले बेरिएका छन् । विद्यार्थीहरु भत्किन ठिक्क परेका पर्खालमुनी ज्यानको बाजी राखेर पढ्न आउँदैछन्, अझै ।

विद्यार्थीहरुको निरन्तरको गुनासो सरोकारवालाहरुले कहिल्यै सुनेका छैनन् । २०७२ सालको विनाशकारी भूकम्पले भत्काएका भवनको अझैसम्म पनि पुनर्निर्माण हुन नसक्दा पुरातात्विक महत्व बोकेको भवनहरु भग्नावशेषमा परिणत हुने तरखरमा छन् । भवनकै अभावमा बेलाबेलामा पठनपाठन नै अवरुद्ध हुने गरेको विद्यार्थीको गुनासो छ ।

यो कलेजले कयौं नेता तथा राजनेता जन्मायो । तर ६ वर्ष पहिले भुकम्पले भत्किएर ‘रातो स्टिकर’ टाँसिएको भवनको जीर्णोद्धारको काममा ती राजनेताहरुले कहिल्यै चासो दिएनन् ।

राजा महेन्द्रदेखि गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल, गगन थापालगायत बर्तमान प्रधानमन्त्री शेरबहादुर देवाउसम्मले अध्ययन गरेको क्याम्पसको जीर्ण अवस्थाले यसको आफ्नै इतिहासलाई गिज्याइरहेको छ ।

कुनै समय १५ हजारसम्म विद्यार्थीले पढ्ने गरेको त्रिचन्द्र कलेजमा अहिले मुस्किलले ५ हजार विद्यार्थीहरु छन् । विडम्बना, राजनीतिक दाउपेचका कारण कलेज अब कहिल्यै आफ्नो विरासतमा फर्किएला जस्तो देखिँदैन ।

कलेजका कक्षाकोठा देखि पुस्तकालय, प्रयोगशाला र शौचालय सम्मको अवस्था दयनीय छ । अझ कार्मचारी बीचकै मनमुटाव र राजनीतिले कलेजलाई दिनानुदिन कमजोर बनाइहरेको छ । यहाँका प्रशासकीय कक्षहरुमा तालाबन्दी हुनु त सामान्य बनिसकेको छ ।

कतिपय पदभार सम्हालेकाहरु कार्यकक्षमा विरलै भेटिन्छन् । तर पनि उनीहरु भन्छन् सबै ठिकठाक छ । विद्यार्थीहरु कहिल्यै ठिकठाक नभएको बताउँछन्, सँधैजसो आन्दोलन गर्ने र आन्दोलनको चेतावनी दिने विद्यार्थीहरुको दैनिकी बनेको छ ।

प्रतिक्रिया

One thought on “त्रिचन्द्र कलेजको यस्तो बेहाल, ज्यान नै जोखिममा राखेर पढ्न बाध्य विद्यार्थी (भिडियो रिपोर्टसहित)

  1. मिडिया ले किन जैले नि नराम्रो मात्र देखाउछ्न ।त्रि-चन्द्र कलेज को त्यो नराम्रो बाहेक का राम्रा कुरा बाहिर ल्याउने आँट नि गरन हो। त्रि-चन्द्र क्यामपस मा त्यो बाहेक का कैयन राम्रा पक्ष हरु पनि छ्न ख्याल रहोस मिडिया लाई।

Leave a Reply to bharat shahi Cancel reply

Your email address will not be published. Required fields are marked *