महानगरका बैठक पारदर्शी गरेका बालेनलाई मिडियासँग डर किन ? (भिडियो रिपोर्टसहित)
मेयर बालेन साह र पत्रकारबीच भएको के हो ?

१ असार २०७९ काठमाडौं । फोहरमैला प्रशोधनबारे रिर्पोटिङ गर्ने क्रममा हिमालय टेलिभिजनका सहकर्मीमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गर्नु भएको छ ।
फोहरमैला प्रशोधन प्लान्टबारे रिपोर्टिङका लागि गइरहेका बेला अचानक भेटिएका मेयर साहले दुर्व्यवहार गर्नु भएको हो । मेयर साहसहित उहाँका सहयोगीले क्यामेरा पर्शनलाई घेरेर फुटेज डिलिट मात्रै गर्न लगाउनु भएन हिमालय टेलिभिजनलाई ठेगान लगाउने धम्कीसमेत दिनुभयो ।
बुधबार फोहरमैला प्रशोधनबारे रिर्पोटिङ गर्ने क्रममा हिमालय टेलिभिजनका सहकर्मीमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गर्नु भएको छ । फरक विषयको रिपोर्टिङमा गएका बेला मेयर साहले सहकर्मी प्रिन्स मिश्र र क्यामरा पर्सन अविष्ट लामामाथि दुर्व्यवहार गर्नुभएको हो ।
हिमालय टेलिभिजनप्रति लक्षित नै गरेर मेयर साहले हिमालय टेलिभिजनको लोगो देख्नेबित्तिकै बाहिर निकाल्नका लागि उहाँसँगै रहेका नगरप्रहरीलाई आदेश दिनुभयो । त्यसपछि हामीले खिचेका फुटेज समेत जबरजस्ती डिलिट गर्न लगाइयो ।
मेयरसँगै वातवरण तथा कृषि विभाग गएका उहाँका सहयोगीले क्यामरा पर्सन अविष्ट लामालाई घेरेर, टेलिभिजनकै गाडीभित्र राखेर जबरजस्ती भिडियो डिलिट गरिदिएका थिए । साथै मेयर साहका सहयोगीहरुले हिमालय टेलिभिजनमै पुगेर क्यामरा खोस्ने अधिकार आफूसँग रहेको भन्दै धम्की दिएका थिए ।
खास भएको के थियो त ?
काठमाडौंको टेकुस्थित युरोपियन युनियनले बनाइदिएको फोहर प्रशोधन प्लान्टको अवस्थाबारे बुझ्नु नै हाम्रो मुख्य उद्देश्य थियो । सोही उद्देश्यसहित हामी सर्वप्रथम विभागको मुख्य कार्यालय पुग्यौं र विभागीय प्रमुख सरिता राईसँग छोटो अन्तरवार्ता पनि लियौं । त्यसपछि हामी विभागीय प्रमुखकै अनुमतिसहित टेकुस्थित फोहर प्रशोधन उपकरण राखिएको स्थानमा पुग्यौं । त्यहाँ हाम्रो भेट नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टसँग भयो । उहाँसँग हामीले प्रशोधन प्लान्टको अवस्था र यसले गर्ने कार्यमा आधारित रहेर अन्तरवार्ता गरेका थियौं ।
त्यसपछि हामी प्लान्टको अनुगमन गर्नका लागि नायव उपरीक्षक भट्टसँगै प्रशोधन प्लान्ट भएको स्थानमै गयौं । उपकरणका बारेमा पर्याप्त जानकारी भएका प्राविधिक ईञ्जिनियरलाई बोलाउन भनेर उपरीक्षक भट्ट आफ्नो कार्यकक्षतिर जानुभयो । त्यहाँ हामीले करिव आधा घण्टा कुर्यौँ। तर, उहाँ आउनुभएन । त्यसबीच हामीले उपरीक्षक भट्टलाई ३ पटक फोन समेत गर्यौँ ।
संयोगवस त्यही समयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह १०–१५ जनाको टोलीसहित अनुगमनमा आउनुभयो । समय सान्दर्भिक भएको लागेर हामीले उहाँ आएको फुटेज खिच्यौं । त्यसमा न त मेयर साहलाई नराम्रो गर्ने नियत थियो, न त उहाँको कामलाई अवरोध गर्नु नै ।
हामीले त संयोगबस उहाँलाई भेटेपछि छोटो कुरा गर्न पाइन्छ कि भन्ने आशा राखेका थियौं । तर, उहाँले हिमालय टेलिभिजनप्रति लक्षित गरेर धम्की समेत दिनुभएको छ ।
महानगरपालिकाका सम्पूर्ण बैठक पारदर्शी गर्छु भनेर मेयर जितेका बालेन्द्र साह मिडियाका क्यामरासँग किन डराइरहनु भएको छ ?
प्रतिक्रिया