समाज

ओलाङचुङ्गोलाका स्थानीय अझै पनि कहिले मोटर गुड्ला भन्ने आशामा (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २७ गते १८:३९
ओलाङचुङ्गोलाका स्थानीय अझै पनि कहिले मोटर गुड्ला भन्ने आशामा (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७९ ताप्लेजुङ । ताप्लेजुङको विकट स्थान ओलाङचुङगोलालाई सडक सञ्जालमा जोड्ने उद्देश्यका साथ शुरु भएको ट्र्याक खोल्ने काम १२ वर्षमा पनि पुरा हुन सकेको छैन । ओलाङचुङ्गोलाका स्थानीय अझै पनि कहिले आफ्नो ठाउँमा मोटर गुड्ला र सुविधा पाइएला भन्ने आशामा छन् ।

ताप्लेजुङको ओलाङचुङगोला पुग्नका लागि मोटरबाटो छैन । इलाडाँडा भन्ने स्थानसम्ममात्रै मोटर चल्छ । इलाडाँडा पुग्ने सडक पनि सहज छैन, निकै सास्ती खेप्नुपर्ने अवस्थामा छ ।

इलाडाँडासम्म सामान लैजान प्रतिकेजी १० रुपैयाँ भाडा तिर्नुपर्छ । त्यहाँबाट खच्चडको विकल्प छैन । खच्चडमा बोकाएर लैजानका लागि प्रतिकेजी १० रुपैयाँ भाडा लाग्छ । ओलाङचुङगोला पुग्दा कतिपय सामानको मूल्यभन्दा भाडा बढी पर्छ ।

सीमा पारी चीनले बनाएको सडक टिप्तला हुँदै ओलाङचुङगोलासम्म आइसकेको छ । कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने ओलाङचुङगोला उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको तमोर करिडोरको काम सुकेपानीमा आएर अड्किएको छ । संरक्षण क्षेत्रमा बिस्फोट गराउन तथा रुख काट्न अनुमति नभएकाले ओलाङ्चुङगोलाको लाइफलाइन त्यहीँ अड्किएको हो ।

चिनियाँ नाका भारतीय नाका रानीसम्मको दूरी तीन सय किलोमिटर मात्र छ । जसका कारण उत्तर दक्षिण राजमार्गलाई महत्वका साथ हेरिन्छ । चीनबाट आएको सडक र फुङ्लिङबाट गएको सडक जोडिन दुई किलोमिटरको काममात्र बाँकी छ । यही दुई खण्ड सबैभन्दा अप्ठेरो पनि छ । तर, केन्द्रले प्राथमिकतामा नराख्दा ओलाङचुङगोलाका नागरिकलाई आफ्नै देश विरानो लाग्छ ।

पाँचथरको सुभाङखोलादेखि टिप्तलासम्म १ सय २१ किलोमिटर छ । सुभाङखोलमा तमोर करिडोर भेटिन्छ । सुनसरीको चतरादेखि पाँचथरको गणेशचोकसम्म जोड्ने तमोर करिडोर कालोपत्रे गर्ने चरणमा पुगेको छ । टिप्तलादेखि चतरासम्मको दूरी २ सय ५२ किलोमिटर छ । धनकुटाको भुलघाटदेखि भेडेटार–धरान हुँदै रानी भन्सार तीन सय किलोमिटरमा पुग्छ । यो सडक ओलाङचुङगोलाबासीको भविष्यसँग जोडिएको छ ।

उत्तर–दक्षिण जोड्ने महत्पूर्ण सडक भएकाले सरकारको विशेष प्राथमिकता दिनु आवश्यक छ । पर्याप्त बजेट व्यवस्थापन गर्ने, सडक बनाउन सहजता दिनेका आवश्यक छ । पुराना ट्रयाक मर्मत, पुल निर्माण गरी हिमाली क्षेत्रको बासिन्दालाई सुविधादिनमात्र नभई सडकमार्गबाट उत्तरदक्षिण जोड्ने कामलाई तिव्रता दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *