पार्टी व्यवस्थित गर्न माओवादीले सदस्यसँग न्यूनतम एक सय रुपैयाँ लिने

२२ जेठ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीलाई व्यवस्थित गर्न आफ्ना सदस्यहरुबाट वार्षिक न्यूनतम १ सय रुपैयाँ शुल्क उठाउने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी बैठकले केन्द्रीय कार्यालय विस्तार, भौतिक संरचना निर्माणसहित पार्टीलाई व्यवस्थित गर्न रकम संकलन गर्ने भएको हो ।
पार्टी सदस्यहरुबाट न्यूनतम एक सय रुपैयाँ र सक्नेले त्योभन्दा बढी दिनसक्ने निर्णय भएको नेता देवप्रसाद गुरुङले जानकारी दिनुभयो । माओवादीमा हालसम्म ५ लाख संगठित सदस्य छन् ।
उनीहरुबाट एक सय रुपैयाँकै दरमा रकम उठाउँदा पनि ५ करोड रुपैयाँ हुन आउँछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा संरचना निर्माण र व्यवस्थित गर्नका लागि प्रदेश कमिटीहरूलाई १ महिनाभित्र रकम उठाइसक्न निर्देशन दिइएको छ ।
त्यस्तै विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको विवाद मिलाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको नेता गुरुङले जानकारी दिनुभयो । महासचिवलगायत पदाधिकारी चयनको विषयमा अनेरास्ववियु क्रान्तिकारीमा विवाद रहेको छ ।
प्रतिक्रिया