अझै केही दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

१५ जेठ २०७९ काठमाडौं । अझै केही दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
स्थानीयसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावले अझै केही दिन पानी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसकै प्रभावले अहिले पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पानी पर्ने क्रम बढेको भएपनि मनसुन भने सुरू भइसकेको छैन । नेपालमा भारतको केरला हुँदै मनसुन भित्रने गर्छ ।
भारतमा नै मनसुन नआइसकेको अवस्थामा नेपालमा भित्रन अझै केही दिन लाग्ने उहाँको भनाइ छ । नेपालमा सामान्यतया जुन १३ मा प्रवेश गर्ने मनसुन अक्टोबर २ मा बाहिरिने गर्छ ।
प्रतिक्रिया