माग्दीमा पाठ्यपुस्तक अभाव

२०७९ जेठ १५ गते ७:५३
माग्दीमा पाठ्यपुस्तक अभाव

१५ जेठ २०७९ म्याग्दी । नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ ।

यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थीहरु विद्यालय जान मानेका छैनन् भने शिक्षकहरु पmुर्सदिला बनेका छन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् ।

जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम बेनी बजारकै प्रकाश माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालमा पनि पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको प्रकाश माविका विद्यार्थी रेशम घिमिरेले बताउनुभयो ।

अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको सरस्वती आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत प्रभात किसानले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दा दुःखद् भएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक क्षेमबहादुर पुनले बताउनुभयो । उहाँले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइनसकेको जनाउँदै दुर्गमका गाउँमा झनै पुग्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको अर्जुन माध्यमिक विद्यालय भकुण्डेका शिक्षक रघुनाथ शर्माले बताउनुभयो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् । कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ ।

पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् ।

पुस्तक व्यवसायी तथा वितरकहरूका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।

दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक रु एक करोड १२ लाखभन्दा बढी बजेट खर्च हुन्छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *