पोखरा महानगर प्रमुखमा आचार्यलाई पाँच हजार २८६ मतको अग्रता

२०७९ जेठ १० गते ८:५२
पोखरा महानगर प्रमुखमा आचार्यलाई पाँच हजार २८६ मतको अग्रता

१० जेठ २०७९ पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मतगणना सकिएको छ ।

अब पाँच हजार १५ मतगणना बाँकी छँदा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले पाँच हजार २८६ मतको अग्रता बनाउनुभएको छ । उहाँले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेका छन् ।

हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम् प्रत्यासी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ५१ हजार १८५ मत ल्याउनुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पार्नुभएको छ । गुरुङ ५८ हजार ५८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याउनुभएको छ । पोखरा महानगरपालिका वडा नं २२, ३२ र ३३ को आंशिक मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *