विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

८ जेठ २०७९ काठमाडौं । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परिरहेको छ ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिरकुमार श्रेष्ठका अनुसार अहिले मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पारिरहेको प्रणाली अझै ३–४ घण्टा रहने देखिएको छ । त्यसपछि मौसम केही खुल्ने उहाँको अनुमान छ । तर अपरान्हपछि फेरि पनि मौसम बदली भइ मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने उहाँले जानकारी दिनुभयो ।
विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्नेछ । तराईका भूभागमा भने तीव्रगतिको हावाहुरी पनि चल्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि मौसमविद् श्रेष्ठले अनुरोध गर्नुभयो । उहाँका अनुसार प्रिमनसुन अर्थात मनसुन अघिको अवस्था सक्रिय भएकाले केही दिनयता पानी पर्ने क्रम बढेको उहाँको भनाइ छ ।
यस्तै आज राति पनि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि पनि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
प्रतिक्रिया