मोरङको दुई र सुनसरीको एक पालिकाको अन्तिम नतिजा

२०७९ जेठ ६ गते १२:२६
मोरङको दुई र सुनसरीको एक पालिकाको अन्तिम नतिजा

६ जेठ २०७९ विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको दुई पालिका र सुनसरीको एक पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार बेलबारी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा कांग्रेसका नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गर्नुभयो । एघारवटा वडा रहेको बेलबारीमा वडाध्यक्ष छवटामा कांग्रेस, चारवटामा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै रतुवामाई नगरपालिकाको प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाँई १३ हजार १३५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेका दमयन्तादेवी चुडाल नौ हजार ३७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुमन कालिकोटेले आठ हजार ४७९ मत प्राप्त गर्नुभयो । दशवटा वडा रहेको यस पालिकामा पाँचवटामा एमाले, चारवटामा कांग्रेस र एकमा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सुनसरीको दुहबी गच्छदार विजयी
सनुसरी जिल्लाको दुहबी नगरपालिकामा कांग्रेसका बेदनारायण गच्छदारले ११ हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका विनयकुमार पोखरेलले ११ हजार ४६१ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा कांग्रेसका मेनुका पोखरेलले ११ हजार ४३० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका सरोजकुमार सिंहले पाँच हजार ८० मत प्राप्त गर्नुभयो । बाह्रवटा वडा रहेको यस पालिकाको चार वडामा एमाले र अन्य सबै वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *