महोत्तरीमा थप तीन तहको परिणाम सार्वजनिक

२०७९ जेठ ६ गते ८:०६
महोत्तरीमा थप तीन तहको परिणाम सार्वजनिक

६ जेठ २०७९ महोत्तरी । महोत्तरीमा थप तीन स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो समय बर्दिबास र औरही नगरपालिका तथा सम्सी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

बर्दिबासमा राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा प्रल्हादकुमार क्षत्री र उपप्रमुखमा तारादेवी महतो निर्वाचित हुनुभएको हो । क्षत्रीले १४ हजार २१० र महतोले नौ हजार ७३६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुका निकटतम प्रतिस्पर्धी प्रमुख पदका नेकपा (माओवादी केन्द्र) का राजु खड्काले आठ हजार ३२३ तथा उपप्रमुखमा सोही दलका कृष्णमायाँ गौतमले ८१८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिनुभयोे ।

स्वतन्त्र समूहले नै तीन वडाध्यक्षसमेत जितेको छ ।

यसैगरी औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रमुख र उपप्रमुखमा विजयी भएको छ । प्रमुखमा प्रदीपकुमार खड्काले ६ हजार ८७ र उपप्रमुखमा रेणु झाले पाँच हजार ८०८ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सुनिलकुमार यादवले पाँच हजार ७४७ र उपप्रमुखमा रेखा यादवले पाँच हजार ६०५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । अध्यक्षमा रामनाथ यादवले तीन हजार ८९३ र उपाध्यक्षमा अनिताकुमारीले तीन हजार २९५ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार उत्तिमलाल यादवले दुई हजार ५८२ र उपाध्यक्षमा उर्मिला देवीले दुई हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

मत परिणाम घोषणा भएका स्थानीय तहको सङ्ख्या नौ पुगेको छ । यसअघि मटिहानी, रामगोपालपुर र मनराशिश्वा नगरपालिका तथा महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अझै ६ स्थानीय तहको परिणाम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *