रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

२०७९ जेठ ५ गते ७:५२
रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

५ जेठ २०७९ परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो । यादवले सात हजार ८२४ तथा गुप्ताले ६ हजार २६७ मत प्राप्त गर्नुभयो ।

गुप्ता निवर्तमान नगर प्रमुख हुनुहुन्छ । यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको थियो । उपप्रमुखमा राप्रपाबाट विजयी चौधरीले निकटतम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी क्षेत्रीलाई ११९ मतान्तरले हराउनुभयो । चौधरीले ६ हजार ५८२ र क्षेत्रीले ६ हजार ४६३ मत प्राप्त गर्नुभयो ।

अठार वडामध्ये ६ वडामा कांग्रेस, दुईमा एमाले, तीनमा राप्रपा, ६ वडामा जनता समाजवादी पार्टी र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेस वडा नं ५, ६, ८, १४, १७ र १८ मा, एमाले वडा नं १२ र १३ मा, राप्रपा वडा नं १, ३ र ९ मा, जसपा वडा नं २, ४, ७, १०, ११ र १६ मा तथा वडा नं १५ मा स्वतन्त्र उम्मेदवार विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *