सङ्खुवासभामा छ पालिका प्रमुख कांग्रेस र चार पालिका प्रमुखमा एमाले विजयी

२०७९ जेठ ४ गते २०:१३
सङ्खुवासभामा छ पालिका प्रमुख कांग्रेस र चार पालिका प्रमुखमा एमाले विजयी

४ जेठ २०७९ किमाथाङ्का । स्थानीय तहको निर्वाचनमा सङ्खुवासभाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले छ र नेकपा (एमाले) ले चारवटा पालिका प्रमुख जितेको छ । विसं २०७४ को निर्वाचनमा कांग्रेस र एमाले पाँच/पाँच प्रमुख तथा अध्यक्ष जितेको थियो ।

कांग्रेसले खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ ।

एमालेका उम्मेदारहरु मादी नगरपालिका, धर्मदेवी नगरपालिका, चैनपुर नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् । दश स्थानीय तहका ७६ वडामध्ये एमालेबाट ३४ वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसबाट ३३ वडाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट नौ र स्वतन्त्रमा एक वडाध्यक्ष निर्वाचित भएका छन् । वडाध्यक्षहरुमा एमाले पहिलो देखिएको छ ।

त्यसैरी कांग्रेसबाट तीन र एमालेबाट चार उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका छन् । माओवादीले एक, नेकपा (एकीकृत समाजवादी)ले दुई उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । विसं २०७४ को निर्वाचनमा एमाले छ वटा र कांग्रेसले चारवटा उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो ।

खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपप्रमुखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन् ।

मादी नगरपालिकाको प्रमुखमा एमालेका जीवन लिंथेप र उपप्रमुखमा सुनिता देवी भट्टराई निर्वाचित भएकी छन् । पाँचखपन नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विपीन राई र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)की सुमुना श्रेष्ठ विजयी भएका छन् । भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन् ।

मकालु गाउँपालिका गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की मनकला राई विजयी भएका छन् । सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन् ।

चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्वू शेर्पा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनकला राई निर्वाचित भएकी छन् । धर्मदेवी नगरपालिकाको प्रमुखमा एमालेका उदचन्द्र पौडेल र उपप्रमुखमा कांग्रेसकी तारा महत विजयी भएकी हुन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ र उपप्रमुखमा एमालेकै एलिना श्रेष्ठले विजयी भएकी छन् ।

दुई पालिका प्रमुख दोहोरिए
सङ्खुवासभामा दुई पालिका प्रमुख दोहोरिएका छन् । एक नगरप्रमुख र एक पालिका अध्यक्ष पुनः दोहोरिएका छन् । पाँचखपन नगरपालिका प्रमुख विपीन राई र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पा पुनः निर्वाचित भएका छन् ।

पाँचखपनका राई र चिचिलाका शेर्पा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । मकालु गाउँपालिका अध्यक्षमा वाङ्दी शेर्पा निर्वाचित भएका छन् । शेर्पा २०७४ को निर्वाचनमा मकालु गाउँपालिका–१ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *