शुद्धोधन र कञ्चनको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

२०७९ जेठ ४ गते १०:२०
शुद्धोधन र कञ्चनको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

४ जेठ २०७९ रुपन्देही । स्थानीय तह निर्वाचनअन्तर्गत यहाँका दुई पालिकाको नतिजा आएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । बस्याल सात हजार ९८३ मत ल्याइ विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का किशुनचन्द्र चौधरीले छ हजार २७० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा एमालेका शान्तादेवी ज्ञवाली छ हजार ६८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षका गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)का शारदा भुसालले तीन हजार २५५ मत प्राप्त गर्नुभएको छ ।

शुद्धोधनको वडा नं १ मा जसपाका उदयराज गडेरिया, वडा नं २ मा कांग्रेका कमल खड्का क्षेत्री विजयी हुनुभएको छ भने वडा नं ३ मा एमालेका हेमबहादुर खड्काले जित हासिल गर्नुभएको छ । वडा नं ४ मा कांग्रेसका केशवप्रसाद अधिकारी, वडा नं ५ मा कांग्रेसका चन्द्रमान चौधरी, वडा नं ६ मा कांग्रेसकै उपेन्द्र सहानी, ७ मा पनि कांग्रेसकै भीमबहादुर यादव विजयी हुनुभएको छ ।

यसैगरी जिल्लाको रुपन्देहीको कन्चन गाउँपालिकामा कांग्रेसका नवराज ढकाल निर्वाचित हुनुभएको छ । उहाँले दिनानाथ आचार्यलाई पराजित गर्नुभयो । ढकालले नौ हजार ८५ मत र आचार्यले सात हजार ८४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपाध्यक्षमा कांग्रेसकै मौसमी थापा मगर नौ हजार १९४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ओमकली रहाडीले सात हजार ६९९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *