गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांग्रेस विजयी

२०७९ जेठ ४ गते ८:००
गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांग्रेस विजयी

४ जेठ २०७९ कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख–उपप्रमुख पदमा पुनः कांगे्रस उम्मदेवार दोहोरिएका छन् ।

कांगे्रसका प्रमुख पदका उम्मेदवार हस्त पुनले नेकपा (एमाले)का तिलक खत्रीलाई एक हजार ७९२ मत पराजित गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पुनले ११ हजार ९७८ र उहाँका निकटतम् प्रतिद्वन्द्वी खत्रीले १० हजार १८६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा मैना विकले ११ हजार ७४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला विश्वकर्माले १० हजार २९९ मत प्राप्त गर्नुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पुन र विक प्रमुख–उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

लेकबेँसी नगरपालिकाको प्रमुखमा कांगे्रसका उमेशकुमार पौडेल र उपप्रमुख पदमा एमालेका विमला खड्लुक विजयी हुनुभएको छ । एमालेका देवबहादुर रानालाई २६५ मतान्तरले पराजित गर्दै पौडेलले छ हजार ६३९ मत ल्याएर विजयी हुनुभएको हो । रानाले छ हजार ३७४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा विजयी एमाले उम्मेदवार खड्लुकले छ हजार १०९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) देउकली थापामगरले पाँच हजार ४४० मत प्राप्त गर्नुभयो । यहाँ प्रमुख–उपप्रमुख पदमा कांगे्रस र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । विसं २०७४ को निर्वाचनमा लेकबेँसी नगरपालिकाको प्रमुख–उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको थियो ।

सुर्खेतका नौमध्ये चार स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी छ । सिम्ता गाउँपालिका, भेरीगङ्गा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकामा मतगणना जारी छ । पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा कांगे्रस तथा चिङ्गाड गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएको घोषणा भइसकेको छ । त्यहाँको निर्वाचन मतपरिणाम मङगलबार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *