Main News

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २९ गते २१:०५
यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०७९ काठमाडौं । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको वर्षौदेखिको चाहना यसपटक पूरा हुने भएको छ ।

२५ सय ६६ औं बुद्ध जयन्तीका अवसर पारेर मोदी गौतम बुद्ध जन्मस्थल लुम्बिनी पुग्नु हुने भएको हो । मोदी भारतको कुशीनगरबाट सिँधै लुम्बिनी पुग्ने कार्यक्रम छ। त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाहेको जस्तो भएको भए सन् २०१४ मै सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरिसक्नु हुन्थ्यो । त्यतिबेला सुरक्षा लगायतका कारण लुम्बिनी भ्रमण रद्ध गरियो मोदीको मुक्तिनाथ भ्रमण मात्र भयो । त्यसपछि पनि लुम्बिनी भ्रमण गर्ने मोदीको चाहना अधुरै थियो ।

काठमाडौं आएका बेला पशुपतिनाथ दर्शन गर्न नछुटाउने मोदी यसअघि पोखरा, धुलिखेल, जनकपुर पुगिसक्नु भएको छ । यसपटक जेठ २ गते २५ सय ६६ औं बुद्ध जयन्तीमा मोदीका लागि लुम्बिनी भ्रमणको अवसर जुटेको छ । मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र पारिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मोदीको सुरक्षाका लागि भारतीय वायु सेनाको विशेष विमान बुधबार नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतण गरी स्पेशल प्रोटेक्शन गार्डका ३० जना भारतीय सुरक्षाकर्मीलाई छाडेर फर्किसकेको छ । नेपाली सुरक्षा निकायसँगको समन्वयमा भारतीय सुरक्षाकर्मीले सुरक्षा व्यवस्थाको तयारी शुरु गरिसकेको छ । संयुक्त गस्ती पनि शुरु भएको छ ।

मोदीको स्वागतको तयारी भैरहेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिर परिसर रंगरोगन, स्वागतद्वार निर्माणदेखि हेलिप्याड निर्माणसम्मका कामहरु गरिएको छ । चार वटा हेलिकोप्टर लिएर आउने मोदीको भ्रमणका लागि लुम्बिनी क्षेत्रमा चार वटा हेलिप्याड नै निर्माण गरिएको कोषले जानकारी दिएको छ। मोदी लुम्बिनी जेठ २ गते बिहान ११ बजे लुम्बिनी अवतरण गर्नु हुनेछ ।

मायादेवीको मन्दिरको दर्शन गरिसकेपछि भारतीय बौद्धधर्मालम्बीहरुको संस्था इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउन लागेको बौद्ध विहारको शिल्यान्यासको कार्यक्रम पनि छ । झण्डै ४० मिनेट मायादेवी मन्दिरमा विशेष पूजामा सहभागी हुने र अशोक स्तम्भ अघि दीप प्रज्वलनका साथै फोटोशेसनको कार्यक्रम पनि राखिएको छ । यी लगायतका कार्यक्रमपछि मोदीले बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्नु हुनेछ ।

झण्डै तीन घण्टा जति लुम्बिनीमा रहने मोदी उतैबाट स्वदेश फर्किनु हुनेछ । गौतमबुद्ध भारतमा जन्मिएको भनेर विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय फोरमहरुमा सार्वजनिक वक्तव्य दिने गर्दा नेपालमा भारतीय प्रधानमन्त्री मोदीको तीव्र विरोध हुने गरेको छ ।

यसपटक बुद्ध जन्मस्थल लम्बिनीमै भ्रमण गर्ने मात्रै नभएर अशोक स्तम्भ अघि दीप प्रज्वलन गरिसकेपछि सम्बोधन गर्ने कार्यक्रममा मोदीले बुद्धको जन्मस्थलका विषयमा राख्ने धारणाले विशेष अर्थ राख्नेछ ।

गौतम बुद्धबारे यसअघि दिएका भ्रमपूर्ण अभिव्यक्ति सच्याउनु हुनेछ वा सच्याउनु हुँदैन त्यो आमचासोको विषय बनेको छ । यसअघि दिँदै आएको गलत अभिव्यक्ति सच्चाएमा मात्रै मोदीको लुम्बिनी भ्रमण साँचो अर्थमा सार्थक हुनेछ ।

प्रतिक्रिया

One thought on “यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी (भिडियो रिपोर्टसहित)

  1. लुम्बिनी क्षेत्र विकास कोषले वुद्ध जयन्तीको दिन आउदै गरेका मोदिको स्वागतमा तयार पारिने हरेक ब्यानर र पुजा स्थलमा लिपुलेक, लिम्पियाधुरा र काला-पानी हाम्रो हो भनेर लेखेको ब्यानरका साथमा नेपालको चुच्चे नक्शा राखोस्। सहभागीहरुले पनि चुच्चे नक्शा सहित काला पानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्ने प्लेकार्ड हातमा लिएर स्वागत गर्नहुन अनुरोध।

Leave a Reply to Dharmaraj Timilsena Cancel reply

Your email address will not be published. Required fields are marked *