धादिङको चेपाङ समुदायमा नमूना मतदान

२०७९ वैशाख २९ गते १९:०८
धादिङको चेपाङ समुदायमा नमूना मतदान

२९ वैशाख २०७९ काठमाडौं । धादिङको चेपाङ बस्तीमा नमूना मतदान गरिएको छ । भोलि हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नमूना मतदान गरिएको हो ।

चेपाङ बस्तीमा निर्वाचन शिक्षा आवश्यक रहेकाले नमूना मतदान गरिएको धादिङका निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय धादिङले चेपाङ समुदायको बाहुल्यता रहेको गजुरी गाउँपालिका–३ मा नमूना मतदान कार्यक्रम गरेको हो । कार्यक्रममा मतदान गर्ने तरिका, मतपत्र पट्याउने, मतपेटिकामा हाल्ने तरिकाको बारेमा जानकारी गराइएको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङले यसअघि निर्वाचनमा खटिने कर्मचारीलाई नमूना मतदान कार्यक्रमको आयोजना गरेको थियो । अधिकारीले भन्नुभयो– चेपाङ समुदायबाट धादिङ जिल्लाभर ६८ सय मतदाता छन् । यो निर्वाचनमा धादिङमा मात्रै चेपाङ समुदायबाट ७ जना वडा अध्यक्षको उम्मेदवार पनि छन् । उनीहरु सचेत पनि भैरहेका छन् । तर मतदान गर्ने अधिकार सुनिश्चित गर्न र मत बदर कम होस् भन्ने उद्देश्यले चेपाङ समुदायमा नमूना मतदान गरिएको हो।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धादिङमा २ हजार ३०६ मत बदर भएको थियो । २ लाख ६ हजार २ जना मतदातामध्ये १ लाख ५५ हजार ९८७ जनाले मतदान गरेको उहाँले बताउनुभयो । ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्ने २ लाख ६८ हजार ४७२ जना मतदाता रहेका छन् ।

मतदाताका लागि मतदाता शिक्षा आवश्यक थियो र छ पनि । उहाँले भन्नुभयो– ‘यस निर्वाचनमा १ हजार ५१४ जना कर्मचारी खटिएका छन् । उनीहरुलाई हामीले तालिम दियौं । हामीभन्दा निर्वाचनमा खटिएका कर्मचारीहरु हरेक मतदातासम्म पुग्छन् र उनीहरुले मतदातालाई सिकाउँछन् । यसो गर्दा थप प्रभावकारी बन्ने अपेक्षा लिएका छौं ।

विभिन्न राजनितिक दलहरुले पनि घर दैलो कार्यक्रममार्फत मतदाता शिक्षा दिएका छन् । उहाँले भन्नुभयो– मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयमा हामीले कर्मचारी नै खटाएका छौं । कार्यालयमा आउने तथा हाम्रो क्षमताले भ्याएसम्म मतदाता शिक्षा दिइरहेका छौं । विभिन्न सञ्चार माध्यमहरु मार्फत पनि मतदाता शिक्षा दिइरहेका छौं । सकेसम्म मतदाताको मत बदर नहोस् भन्ने हाम्रो चाहना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *