नेतालाई भोटको, भूमिहीनलाई पेटको चिन्ता (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २५ गते २०:३३
नेतालाई भोटको, भूमिहीनलाई पेटको चिन्ता (भिडियो रिपोर्टसहित)

२५ वैशाख २०७९ विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरभित्रका विपन्न दलित परिवारका घर आँगन पनि यतिखेर दलका चुनावी पोष्टर र झण्डाले रंगिएका छन् ।

सबै दलका नेता कार्यकर्ता र उम्मेदवारहरु दलित बस्तीमा पुगेर आश्वासन र प्रलोभन बाँड्दैछन् । तर ऋषिदेव, मुसहर, डोम, सदालगायत विराटनगर महानगरमा रहेका करिब ७० हजार भूमिहीन दलित समुदायको चिन्ता भने साँझ बिहानको गर्जो कसरी टार्ने भन्नेमा छ ।

विराटनगर महानगरपालिका १२ स्थित बखरीमा १ सय ५० घर ऋषिदेव र करिब ३५ घर चमार जातिको छ । पछिल्लो साढे चार वर्षदेखि मुख देखाउन समेत नआएका जनप्रतिनिधि र विभिन्न दलका नेताहरू अहिले राति सुतेको बेला पनि भोटका लागि दलितको घर बस्ती चहार्ने गरेका छन् ।

कामका लागि निस्कनु अघि नै उनीहरुको बस्तीमा उम्मेदवारहरु आश्वासन बाँड्न आइपुग्छन । तर उनीहरुले बर्षौदेखि भोग्दै आएको डुबान र सुकुम्बासीको समस्या अहिले पनि ज्यूँको त्यूँ छ ।

विराटनगर महानगरभित्र दलितको बाक्लो बस्ती छ । पानीको स्रोतका रूपमा बस्तीमा केही चापाकल छन् । खुलाचौर नै अधिकांशको शौचालय हो। उचित शिक्षा, स्वास्थ्य उपचार र रोजगारीबाट बञ्चित उनीहरु बिहानको छाक पछि बेलुका के खाने भन्ने पिरलोमा छन् । मुसहर बस्तीमा आउने नेताहरूले पैसा र मदिराको प्रलोभन पनि दिने गर्छन्। तर, वर्षौदेखि ठगिएका विपन्न समुदायका दलित यसपाली आश्वासनमा मात्र भोट नदिने अठोटमा छन् ।

विराटनगर महानगरपालिकाभित्र रहेका दलित बस्ती बर्सेनि डुबानमा पर्ने गरेको छ । सुकुम्बासी भएर बस्नुपर्ने पीडा उनीहरुको निकै पुरानो हो । योसँगै दलित बस्तिमा अधिकांश युवा नागरिता विहीन छ ।

विराटनगर महानगरपालिकाको कुल एक लाख ३३ हजार १४२ जना मतदाता मध्ये १८ प्रतिशतभन्दा बढी दलित मतदाता छन । यी मतदाताको समस्या सम्बोधनमा दल र उम्मेदवारको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *