व्यवस्थापन समितिको विवादका कारण अध्ययन-अध्यापनमा समस्या (भिडियो रिपोर्टसहित)

२६ चैत २०७८ गुल्मी । गुल्मीको सिद्ध मालिका आधारभूत विद्यालयमा अध्ययनका लागि उपयुक्त कक्षाकोठा, शौचालय तथा खानेपानी नहुँदा अध्ययन अध्यापनमा समस्या हुने गरेको छ ।
स्थानीय नागरिक, विद्यालय व्यवस्थापन समितिको विवादका कारण भौतिक संरचना निर्माणको काम हुन सकेको छैन । जसका कारण विद्यार्थी तथा शिक्षक समस्याका बीच अध्ययन अध्यापन गराउन बाध्य छन् ।
यो गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–२ दर्लिङ्ग पाटाखर्कस्थित सिद्ध मालिका आधारभूत विद्यालय । अनि यो कक्षा कोठा । कक्षा कोठाको अवस्था यस्तो छ भने न शौचालय छ न नै स्वच्छ खानेपानीको सुविधा । सदरकमुकाम तम्घासबाट करिब ५० किलोमिटर पश्चिममा पर्ने यो विद्यालय पुग्न बाटो पनि निकै अप्ठ्यारो छ ।
आफूहरुले काम गर्न खोजे पनि स्थानीय जनताको विवाद र अनावश्यक दबाबका कारण काम गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिको भनाइ छ ।
स्थानीय सरकार भने विद्यालय व्यवस्थापन समितिले परिपक्क निर्णय गर्न नसक्दा समस्या भएको बताउँछन् ।
शौचालय निर्माणका लागि बजेट छुट्याइएको भए पनि स्थानीयको विवादका कारण काम भने हुन सकेको छैन ।
राजनीतिक लडाईंका कारण विद्यालयको संरचना निर्माणमा ध्यान पुग्न सकेको छैन । २०६५ सालमा २० जना बालबालिकाबाट पठनपाठन शुरु गरिएको विद्यालयमा अहिले १ सय ५० जनाभन्दा बढी विद्यार्थी छन् । तर, विद्यालयको अवस्था भने सुधार हुन सकेको छैन ।
प्रतिक्रिया