महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा भुसाल सगरमाथा आरोहण गर्ने

२०७८ चैत २४ गते ८:१३
महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा भुसाल सगरमाथा आरोहण गर्ने

२४ चैत २०७८ काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने हुनुभएको छ ।

आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लाग्नुभएकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गर्नुभएकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसक्नुभएको छ ।

कार्यक्रममा डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो । यसअघि पुरुष डाक्टरले सगरमाथाको सफल आरोहण गरे पनि डा भुसाल महिला डाक्टरको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा चढ्न लाग्नुभएको हो ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डी अस्पतालको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्न लागेको भन्दै डा भुसाललाई सगरमाथा सफल आरोहणको शुभकामना व्यक्त गर्नुभयो । डा भुसालले सगरमाथा आरोहण गर्न लागेकामा ग्राण्डी अस्पताल परिवार साह्रै खुशी भएको उहाँको भनाइ थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमृत खन्नाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने कुरा चुनौतीपूर्ण रहेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल राखी सगरमाथा आरोहण गर्न आग्रह गर्नुभयो ।

कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लाग्नुभएको हो ।

अर्घाखाँची स्थायी घर भएकी डा भुसाल काठमाडौँको बाँसबारीमा बस्दै आउनुभएको छ । उहाँ हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *