यसरी पर्यटक तान्दै रामेछापको गोकुलगंगा गाउँपालिका (भिडियो रिपोर्टसहित)

२०७८ चैत २३ गते २०:३०
यसरी पर्यटक तान्दै रामेछापको गोकुलगंगा गाउँपालिका (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ रामेछाप । कुनै समय पदयात्रा गरेर सगरमाथा पुग्नेहरुका लागि रामेछापको गोकुलगंगा गाउँपालिकास्थित शिवालय बजार पहिलो क्याम्प थियो । अहिले हवाई सेवाका कारण यो ठाउँमा विदेशी पर्यटकको संख्यामा कमी आएको छ । तर, भौतिक पूर्वाधारहरु बन्न थालेपछि आन्तरिक पर्यटकको संख्या भने बढ्न थालेको छ ।

यो रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकास्थित शिवालय बजार हो । कुनै समय सगरमाथा आरोहणका लागि जाने विदेशी पर्यटकको यहाँ लर्को नै लाग्थ्यो । तर, विमानस्थल बनेपछि पैदलयात्रा गर्दै यो बाटो जाने पर्यटकको संख्या घट्दै गयो । अर्कोतर्फ सशस्त्र द्वन्द्वका कारण पनि पैदलयात्रीको कमी हुँदै गयो ।

तर पछिल्लो समय यस क्षेत्रमा आन्तरिकसँगै फाट्टफुट्ट विदेशी पर्यटक पनि पुग्न थालेका छन् । पाँच पोखरी, जटापोखरी, स्टोन पार्क तथा ताँबे डाँडा जाने पर्यटक यही बाटो प्रयोग गर्छन् । यस ठाउँमा पर्यटकका लागि सुविधासम्पन्न होटलहरुसमेत बनेका छन् ।

पाँचपोखरी, जट्टा पोखरी र मनोरम हिमालय देखिने ताँबेडाँडाजस्ता धार्मिक र प्राकृतिक सम्पदालाई शीरमा राखेर बसेको शिवालय बजारमा नेपालको स्वीटजरल्याण्डका नामले चिनिने जिरी घुम्न जाने पर्यटक पनि पुग्ने गरेका छन् । यसरी पुग्ने पर्यटकको स्वागत–सत्कारका लागि गाउँपालिकाले होटल व्यवसायीलाई प्रोत्साहनसमेत गरेको छ । कम्तिमा दुई सयवटा सुविधा सम्पन्न कोठासहितका होटल निर्माण गर्ने स्थानीय सरकारको नीति अनुरुप धमाधम होटलहरु पनि बनिरहेका छन् ।

सशस्त्र द्वन्द्व सकिएपछि विस्तारै लयमा आएको पर्यटन व्यवसाय २०७२ सालको भूकम्प र दुई वर्षयताको कोरोना महामारीले पुनः शिथिल बन्यो । भूकम्पपछिको पुनःनिर्माण र कोरोना संक्रमण विस्तारै कम हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षामा यहाँका व्यवसायी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *