स्थानीयमाथि कुटपिट गर्ने गाउँपालिका उपाध्यक्ष सरु राई पक्राउ

२०७८ चैत २१ गते १७:०१
स्थानीयमाथि कुटपिट गर्ने गाउँपालिका उपाध्यक्ष सरु राई पक्राउ

२१ चैत २०७८ इलाम । इलाम फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राई आफैं प्रहरीमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

आत्मसमर्पण गरेपछि उहाँलाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान शुरु गरिएको र कानुनी कार्वाहीको प्रकृया अघि बढाइएको थापाले बताउनुभयो ।

मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा उपाध्यक्ष राईले गत चैत १८ गते सोही गाउँपालिका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको आरोप छ ।
फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद छ । गत १८ गते भएको वार्तापछि गाउँपालिका उपाध्यक्ष राईले असन्तुष्टमध्येका खड्कालाई कुटपिट गरेको पीडितले बताएका छन् ।

आफूमाथि नभएको आरोप लगाएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नु परेको उपाध्यक्ष राईले बताउँदै आउनु भएको छ । फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । सहमति अनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवा असन्तुष्ट भएका हुन् ।

कोरिया जान चाहने ४ सय ७७ युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । आवेदकमध्येका साढे ३ सय युवाले कोरिया जान मेडिकल जाँचसमेत गराइसकेका छन् ।

जनप्रतिनिधिले कामदार छनोट पारदर्शी नबनाई आफूखुसी गरेको असन्तुष्ट युवाको आरोप छ । असन्तुष्ट आक्रोशित युवाले हप्ता दिनअघि कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका थिए । तालाबन्दी भने गत १३ गते खुलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *