पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो : भूगर्भविद्

२०७८ चैत १४ गते ९:४०
पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो :  भूगर्भविद्

१४ चैत २०७८ महोत्तरी । महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ ।

गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन् । ललितपुरस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीनतले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिनुभयो । उहाँहरुले तीनसम्म पहिरोको स्थलगत अध्ययन गर्नुभएको थियो ।

“यो पाखाको माटो खुकुलिएर झरेको सामान्य प्रकृतिको पहिरो देखिँदैन”, उपप्राध्यापक प्रकाशचन्द्रले भन्नुभयो, “यहाँ नयाँ र थप अध्ययन गरिनपर्ने भौगर्भिक अनुसन्धानको चासो देखिएको छ ।” पहिरो गएको पाहाडको शृङ्खला धकेलिएर ठेलिँदै गएर पहिरो गएको उहाँको भनाइ छ ।

“पहाडी थुम्का ठाउँठाउँमा च्यातिएको देखिन्छ, चट्टानका पत्र धजा परेका छन्”, वातावरणविद् सरोज भन्नुभयो, “पहिरो गएको पाहाडि थुम्कामा छिनछिनमा प्रकृति (आकार) फेरिँदै छ ।” घटनास्थल नजिकका थुम्का र पाखामा ‘पट्–पट्’ आवाज आइरहने र खयरमारा खोला पश्चिमको किनार लगातार उठी रहेको वातावरणविद् उहाँको भनाइ छ । सबैभन्दा नयाँ कुरा पहाड पूर्वतर्फ ठेलिँदै गएको दुवै विज्ञको ठम्याइ छ ।

पहिरो गएको ठाउँ चुरे र तराई छुट्याउने ‘प्रगाध’ रहेको उहाँको भनाइ छ । तीनतले पहाडी थुम्का र त्यसको पूर्वी फेदी खयरमारा खोलाले पछिल्लो एक महिनादेखि दिनदिनैजसो रुप फेर्दै आएका खयरमाराकै बासिन्दा सामाजिक कार्यकर्ता विष्णु भण्डारीले जानकारी दिनुभयो । अनुगमन टोलीसँगै तीन दिन सँगसँगै रहनुभएका उहाँले एक महिना पहिले आफूले नयाँ अवस्था देखेपछि विज्ञहरुको चासोकै लागि सामाजिक सञ्जालमा तीनतले पाहाड र खयरमारा खोलाको अवस्थितिबारे तस्वीर राखेको बताउनुभयो ।

“म आफ्नै व्यवसाय प्रयोजनको भेटघाटका लागि भित्री काछ बस्तीतिर आउजाउ गरी रहन्छु”, उहाँले भन्नुभयो, “तीनतले मुनि पुग्दा ‘गडगड’ ‘पटपट’ को आवाज सुनेपछि के हुँदैछ भन्ने चासो बढेको हो ।” एक महिनाअघि मास्तिर जाँदा र फर्कदा खयरमारा खोलाको पश्चिमी किनार र पहाडी पाखा फरक देखिएजस्तो लागेपछि यो खास परिस्थिति बन्दैछ भन्ने अड्कल भएको स्थानीयवासी भण्डारीले जानकारी दिनुभयो । आफूले करिब एक महिनापहिले नै त्यहाँको परिघटनाबारे सामाजिक सञ्जालमा पस्कँदै आए पनि पहिरो गइसकेपछिमात्र विज्ञको चासो बढेको उहाँले बताउनुभयो ।

सुक्खा याममा गत बुधबार मध्यरातपछि तीनतलेमा पहिरो गएको हो । विष्फोटको आवाजले तीन÷चार पटक पहिरो गएको स्थानीयले बताउँदै आएका छन् । पहिरो गएयता पहाडी थुम्का र फेदी नजिक लगातारजसो ‘गडगड’ र ‘पटपट’ जस्तो आवाज सुनिन थालेपछि यो दैवी आपत्तिको सङ्केत भन्दै चुरे काछवासी डराएका छन् । घटनालाई ईश्वर रिसाएर भएको तामाङ बसोबास बाहुल्यताको काछवासीको बुझाइ छ ।

घटनास्थलको अवलोकन गर्नुभएका दुवै विज्ञले यो विशेष प्रकृतिको भौगर्भिक घटना भएको हुँदा यसबारे थप अध्ययन र अनुसन्धानको आवश्यकता औँल्याउनुभएको छ । “हामीले स्थलगत अवलोकनपछि समाजका विभिन्न पक्षसँग पनि अन्तक्र्रिया गरेका छौँ”, भूगर्भशास्त्री प्रकाशचन्द भन्नुभयो, “अब हामीले देखे बुझेको कुरा वरिष्ठ भूगर्भविज्ञ (वैज्ञानिक) डा मेघराज धिताल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना पुलचोक ललितपुरका विज्ञलाई दर्शाउँछौँ ।” यो गम्भीर र फरक प्रकृतिको भौगर्भिक घटना भएको हुँदा निरन्तर अध्ययन र अनुसन्धानको चासोमा पर्नुपर्ने दुवै विज्ञको ठहर छ ।

पहिरो गएयता त्यसअघिको ५० मिटरभन्दा फराकिलो खयरमारा खोलाको चौडाइ साँघुरिएर १० मिटरमा झरेको छ । खोलाको भाग खोच बन्दै गएको, पहाडी थुम्का लगातार ठेलिँदै पूर्वतर्फ धकेलिएको र चट्टानमा धजा पर्ने क्रम जारी नै रहेको हुँदा यसले थप जोखिम बढाएको घिमिरेद्वयको निष्कर्ष छ । “चुरे काछका १० भन्दा बढी बस्ती त जोखिममा देखिए नै” उहाँले भन्नुभयो, “करिब तीन किलोमिटर दक्षिणको खयरमारा बजार पनि जोखिम बाहिर छैन ।” अहिले सुक्खायाममै गएको पहिरो बर्खा आउनुअघि समुचित व्यवस्थापन नगरिए अकल्पनीय विपत्ती आइपर्न सक्ने विज्ञद्वयको ठम्याइ छ ।

खयरमारा उत्तरका चुरे काछका पाखा र फेदीका चौरमा गरी १० भन्दा बढी बस्ती छन् । बर्दिबास–१० र ११ मा पर्ने यी बस्तीका बासिन्दा पहिरो गएयता राम्ररी निदाउन सकेका छैनन् । पहिरोबारे सामाजिक सञ्जाल, छापा र विद्युतीय सञ्चारमाध्यममा लगातार समाचार प्रसारण÷प्रकाशन भइरहे पनि जनप्रतिनिधिमूलक र प्रशासनिक निकाय अवस्था हेर्नसम्म पनि नआएका खयरमारा–११ का बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता विष्णु भण्डारीको गुनासो छ । अब काठमाडौँबाट आएको भूगर्भविज्ञ र वातावरणविज्ञको अवलोकन र अध्ययनले सम्बद्धपक्षको चासो बढाइदिने खयरमारावासीले आश सङ्गालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.