समाज

ज्यालादारी कामदारलाई महंगीको पीर, कसले देला राहत ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ७ गते १८:३४
ज्यालादारी कामदारलाई महंगीको पीर, कसले देला राहत ? (भिडियो रिपोर्टसहित)

७ चैत २०७८ पोखरा । गाँस, बास र कपास पाउनु कुनै पनि देशका नागरिकको नैसर्गिक अधिकार हो । तर, महंगीका कारण दैनिक ज्यालामजदुरी गरिरहेका नागरिकको यो अधिकार खोसिने खतरा बढेको छ ।

कञ्चनपुरका रामप्रसाद न्यौपाने पोखरामा ज्याला मजदुरी गर्नुहुन्छ । काम पाउँदा न्यौपाने दिनको पाँच सय रुपैंयासम्म कमाउनुहुन्छ । तर सधैं काम पाइन्न । काम नपाए पनि खानु त पर्‍यो नै । बजार गयो, एक लिटर तेलको ३ सय पर्छ, चामल, दाल, नुन, तरकारीको भाउ पनि छोइनसक्नु छ । महंगी बढेसँगै न्यौपानेको चिन्ता पनि बढेको छ ।

न्यौपाने जस्तै पोखरामा ज्यालादारी काम गरिरहेका सबैलाई महंगी बढ्दै जाँदा पीर पर्न थालेको छ । कामै छैन भनौं, काम छ, तर साथमा थोरै दाम छ । यो थोरै दामले जिन्दगी धान्न मुस्किल हुँदा मजदुरी गर्नेहरुको जीवन अत्यासलाग्दो भएको छ ।

दैनिक उपभोग्य वस्तु, चामल, पीठो, मरमसला, तरकारी लगायत सबैको जथाभावी मूल्यवृद्धि भैरहेको छ । तर दैनिक ज्याला मजदुरी गर्नेहरुको ज्याला बढेको छैन । थोरै कमाइले गुजारा टार्न मुस्किल छ ।

महँगी नियन्त्रणका लागि पोखरामा बेलाबेलामा बजार अनुगमन हुने गरेको छ । अनुगमनले महंगी नियन्त्रणमा आउँदैन । उत्पादकले जतिमा विक्रीवितरण गर्ने भनेर बजारमा समान ल्याएको छ, त्यो रकम नतिरी नागरिकलाई सुखै छैन ।

हरेक सामानको मूल्य बढ्दा, बजारमा दैनिक उपभोग्य वस्तु छोइनसक्नु भएको छ । यस्तो अवस्थामा भोकले नागरिकको मृत्यु भएको खबर सुन्नुअघि राज्यले उचित व्यवस्था गर्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *