पाँच वर्षसम्म पनि खरको छानोमुक्त गराउने अभियान पूरा हुन सकेन (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७८ काठमाडौं । स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म पनि खरको छानोमुक्त गराउने अभियान पूरा हुन सकेको छैन । सुगम ठाउँका कतिपय नागरिकसमेत चुहिने छानोमुनि बस्न बाध्य छन् । केही स्थानमा भने काम अन्तिम चरणमा पुगेको छ ।
गुल्मीमा खरको छानामुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको छ । कतिपय स्थानमा घरका छानो टल्किएका छन् भने कतै काम अन्तिम चरणमा पुगेको छ । मदाने गाउँपालिकाभित्रका ७ सय २९ घरमा जस्तापाता लगाइसकिएको छ ।
मदाने गाउँपालिकाले २ करोड ८४ लाख लागतमा खरका छाना विस्थापन गरेर जस्ता लगाइदिएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ स्थित स्यालपानीमा १५ वटा घरमा अझै खरको छानो छ । वडा र नगरपालिकाको कार्यालयमा धाउँदा उल्टो खर्च भएको छ ।
यसबाट जिविकोपार्जनका लागि दैनिक ज्यालादरी गरिरहेका स्थानीय निराश भएका छन् । स्थानीय तहले खरको छानोमुक्त पालिका बनाउने अभियान चलाए पनि वर्षायाम आउँदै गर्दा सयौं परिवार चिन्तित छन् ।
तुलसीपुरमा मात्रै होइनन्, घोराहीमा पनि अवस्था उस्तै छ । जनप्रतिनिधिले भने बजेटको अभाव र कोरोना महामारीका कारण काम पूरा हुन नसकेको बताउँछन् ।
मतदातालाई आकर्षित गर्न विभिन्न आश्वासन बाँड्ने गरेका उम्मेदवारले निर्वाचन जितेपछि त्यसलाई चटक्कै विर्सने गरेका छन् ।
प्रतिक्रिया