बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण गरिँदै

हिमालय टिभी
२०७८ फागुन २७ गते १४:४३
बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण गरिँदै

२७ फागुन २०७८ लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकको निर्माण कार्य तीव्ररुपमा भइरहेको छ ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको छ । जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण तीव्ररुपमा भइरहेको हो । गत असारमा आएको बाढीले काठेपुल बगाएपछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकामा गत कात्तिकमा आएको बाढी र पहिराले फेरी काठेपुल बगाएको थियो ।

उक्त काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्लाको सुरक्षा निकायद्वारा सडक निर्माण कार्यको निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा विद्युतीकरणका लागि चामे दानाक्यु क्षेत्रमा भइरहेको पोल गाड्ने र तार तान्नाका साथै तिमाङ खोलाको झरनामा भइरहेको कल्र्भट निर्माणको निरीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

कल्भर्टको काम सन्तोषजनक भएको र धारापानी चौकीबाट दैनिक सुरक्षा र समन्वय तथा नियमित रिपोर्टिङ गर्नेसमेतको प्रबन्ध मिलाएको बताइएको थियो ।

जोखियुक्त अवस्थाका दुइवटा रुख पनि हटाइयो
बेँसीसहर चामे सडकखण्डअन्तर्गत हिमाली मनाङमा जोखिमयुक्त अवस्थामा रहेको दुईवटा रुख हटाइएको छ । मनाङको चामेस्थित सशस्त्र प्रहरी बल नं ३२ गुल्म र पर्वतीय उद्घार शिक्षालय तालिम केन्द्रबाट उपकरणसहित खटिएको टोलीले जोखिमयुक्त अवस्थामा रहेको दुवै रूख काटी हटाएको प्रजिअ आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाको नासोँ र चामे गाउँपालिकाको सिमानामा पर्ने तिमाङ खोला झरनाको पहराअन्तर्गत सडकमाथि दुइटा रुख सुकेर जोखिमयुक्त अवस्थामा लामो समयदेखि लडेर बसेको थियो । ती रुखले कुनै पनि बेला पैदल यात्री तथा सवारीसाधनमा क्षति पु¥याउने सम्भावना हटाइएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *