समाज

नगरपलिकामा अझै विस्थापित हुन सकेन काठे पुल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २४ गते १८:४९
नगरपलिकामा अझै विस्थापित हुन सकेन काठे पुल (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७८ कञ्चनपुर । कञ्चनपुरको मुख्य सहरी क्षेत्रमा रहेको भीमदत्त नगरपलिकामा अझै काठे पुल विस्थापित हुन सकेका छैनन् ।

काठेपुल विस्थापनको आश्वासन दिएर चुनाव जितेका जनप्रतिनिधिको पाँच वर्षे पदावधि सकिन लाग्दा पक्की पुल निर्णाणको आधार बन्न सकेको छैन। गाउँगाउँमा पुगेको सिंहदरबारले समस्या सुनुवाइ नगरेपछि स्थानीय जोखिम मोलेरै नदी तर्न बाध्य छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १८ मा यस्ता धेरै काठे पुल छन् । नगरपालिकाकै सबैभन्दा धेरै जनसंख्या रहेको यो वडामा सुदूरपश्चिम विश्वविद्यालय समेत छ । तर विश्वविद्यालयको छेवैमा बग्ने नालामा अझै काठेपुल छन् ।

महेन्द्रनगर बजारको सम्पूर्ण ढलनिकास हुने नालामाथि राखिएको सामान्य काठेपुलका भरमा वर्षौदेखि जोखिम मोलेर आवतजावत गर्न स्थानीय बाध्य छन् । पक्की पुल बनाइदिन्छु भनेर चुनाव जितेकाहरु आलिशान कार्यालयमा बसेका छन् । जनतालाई बाँडेको आश्वासन बिर्सिएका दलहरु अर्को चुनावका लागि तयारी गरिरहँदा जनताको दुःख जहाँको त्यहीँ, जस्ताको तस्तै छ।

हिउँदको समयमा त त्यति समस्या छैन, तर वर्षायाममा भने विद्यार्थीलाई विश्वविद्यालय पुग्नै कठीन हुने गरेको छ । जनप्रतिनिधिको निकम्मापनका कारण विकास नभएको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत मानविकी तथा शिक्षाशास्त्र संकायका डीन मुकुन्द कलौनीको बुझाइ छ ।

वडा कार्यालयको भनाइ भने छुट्टै छ । अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्थानीयको साथ नपाएकाले काम हुन नसकेको दाबी गर्नुहुन्छ । उहाँका अनुसार जनताले नै पुलको माग गरेका छैनन् ।

पुल नबन्दा स्थानीयले जोखिम मोलिरहेका छन् । जनताको सुख दुःखमा साथ दिने बाचासहित गाउँको सिंहदरबारबाट शासन गरिरहेकाहरुले बाहना बनाएर विकास रोक्न नहुने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *