जनताको भरोसालाई टुट्न नदिने मन्त्री श्रेष्ठको प्रतिवद्धता

हिमालय टिभी
२०७८ फागुन २२ गते ७:२३
जनताको भरोसालाई टुट्न नदिने मन्त्री श्रेष्ठको प्रतिवद्धता

२२ फागुन २०७८ दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिनुभयो ।

“नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा (एमाले)मा, कोही नेकपा (माओवादी केन्द्र)मा, कोही नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन् । आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ ।”

श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उहाँले त्यहाँ भएका विकृति र विसङ्गति अन्त्य गर्ने अभियानमा लागिपरेको बताउनुभयो । “ जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु । मलाई यो गाउँबाट भोट आयो कि आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने प्रयास गरेको छु ।”कार्यक्रममा नेवाः देय दवुका नेताहरु शङ्करनारायण श्रेष्ठ, तारालाल मल्ल र ताराप्रसाद श्रेष्ठलगायतले नेवार समुदायमा एकताको भावना हुनुपर्नेमा जोड दिनुभयो ।

शव ल्याउन श्रममन्त्रीको पहल
तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि मलेसिया पुगेका उहाँको यही फागुन १७ गते मृत्यु भएको हो ।

महाशिवरात्रिका दिन काम सकेर कोठामा पुगेका उहाँको हृदयघातबाट मृत्यु भएको बताइएको छ । अधिकारीको शव मलेसियाबाट स्वदेश ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चासो व्यक्त गर्नुभएको छ । शनिबार मृतकको घरमै पुगेर उहाँले परिवारलाई सान्त्वना दिनुका साथै शव ल्याउने विषयमा पहल सुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राहत र क्षतिपूर्तिका लागि सकेसम्म छिटो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” श्रम स्वीकृति गरेर विदेश गएको र विदेशमा मृत्यु भएको खण्डमा मन्त्रालयमातहतको वैदेशिक रोजगार बोर्डले घरसम्मै शव ल्याउने व्यवस्था गरिदिन्छ । यसका साथै क्षतिपूर्तिवापत रु सात लाख राहत दिने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *