भोलिदेखि देशभरको मौसम सामान्यतया सफा रहने, आज थोरै ठाउँमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ फागुन १५ गते ९:२१
भोलिदेखि देशभरको मौसम सामान्यतया सफा रहने, आज थोरै ठाउँमा वर्षाको सम्भावना

१५ फागुन २०७८ काठमाडौं । भोलिदेखि देशभरको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात गराएको प्रणाली कमजोर हुँदै गएकाले भोलिदेखि देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार यही प्रणालीको प्रभावले अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुँदा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ ।

यही प्रणालीको प्रभावले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागहरुका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी र मधेस प्रदेशबाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात पनि हुने उहाँको अनुमान छ । यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो । भोलि दिउँसो देशको पहाडी भूभागमा एकदुई स्थानमा हल्का वर्षा भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *