बिना कसुर ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए आठ लाख

हिमालय टिभी
२०७८ फागुन १ गते २०:३२
बिना कसुर ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए आठ लाख

१ फागुन २०७८ झापा । विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताउनुभएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली रु आठ लाख उपचार वापतको राहत रकम पाउनुभएको छ ।

काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गर्नुभएको हो ।

भारतको उच्च अदालत कोलकाताले गत मङ्सिर २१ गते शुक्रबार तिम्सिनालाई भारु रु पाँच लाख उपचारवापतको रकम दिलाउन पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको थियो । सोही आदेशबमोजिमको रकम उहाँलाई हस्तान्तरण गरिएको महावाणिज्य दूत पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो क्षतिपूर्ति वापतको रकम होइन, लामो समय विनाकसुर जेल जीवन बिताउँदा उहाँ बिरामी पर्नुभएको छ । उपचारका लागि अदालतले उपलब्ध गराइदिएको रकम मात्र हो । क्षतिपूर्तिका लागि माग दाबी गर्ने अब बाटो खुलेको छ । प्रक्रियामा जाने तयारीमा छौँ ।”

उहाँका अनुसार सो रकम हस्तान्तरण कार्यक्रममा दुर्गाप्रसादका परिवारका सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा र भतिजा गोपाल तिम्सिनाको उपस्थित हुनुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवीको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मङ्गलबारे बजार गए पनि घर नआई सो पैसा लिएर भारतको दार्जिलिङ सहर पुग्नुभएको थियो । दार्जिलिङमा रहँदा उहाँलाई एक युवतीको हत्या आरोपमा जेल चलान गरिएको थियो । सो आरोप मिथ्या सावित भएपछि विसंं २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । उहाँ गत चैत ७ गते कोलकाताको दमदम कारागारबाट रिहा हुनुभएको थियो ।

उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले दुर्गाप्रसादको न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *