समाज

कर्णाली प्रदेश : अघिल्ला वर्षभन्दा दुई गुणाले बढ्यो सवारी दुर्घटना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २२ गते १५:२६
कर्णाली प्रदेश : अघिल्ला वर्षभन्दा दुई गुणाले बढ्यो सवारी दुर्घटना (भिडियो रिपोर्टसहित)

२२ माघ २०७८ सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटना अघिल्ला वर्षभन्दा दुई गुणाले बढेको छ । नयाँ निर्माण गरिएका कच्ची र साँघुरो सडकमा भएका दुर्घटनामा मृत्यु हुनेको संख्या पनि बढेको छ । गाडीमा धेरै यात्रु चढाउनु र यातायातको सहज पहुँचका नाममा जथाभावी सडक खोल्नु पनि दुर्घटनाको मुख्य कारक देखिएको छ ।

कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा २ सय ४६ सवारी दुर्घटनामा १ सय १८ जनाको मृत्यु भएको छ । पहिलो ६ महिनामा दुर्घटनाबाट मृत्यू हुनेको संख्या २०७६–७७ मा ५४ र २०७७–७८ मा ५८ थियो । जीर्ण सडक, पुराना गाडी, तीव्र गति, ट्राफिक नियम पालन नहुनु तथा चालकको लापरवाहीले गर्दा सवारी दुर्घटना बढेको हो ।

यसरी दुर्घटना हुनेमा शहरी क्षेत्रमा २ पांग्रे तथा ग्रामीण क्षेत्रमा ठूला सवारी साधनहरु बढी छन् । शहरी क्षेत्रमा सवारी साधनको चाप धेरै र सडकको बीचमा खाल्डाखुल्डी हुनुले पनि दुर्घटना बढेको छ ।

सडकको अवस्था कमजोर हुनु र ट्राफिक जाँचमा लापरवाही जस्ता कारणले दुर्घटना बढेको यातायात व्यवसायीको भनाइ छ । दुर्घटनालाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने कुरामा कसैको ध्यान नगएको बरु आरोप प्रत्यारोपमा समय खर्च हुने गरेको उनीहरुको आरोप छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले कच्ची तथा साँघुरा सडकका कारण दुर्घटना बढेको स्वीकार गरेको छ । सवारी साधन राम्रो अवस्थामा नहुनु पनि दुर्घटनाको मुख्य कारण भएको कार्यालयले जनाएको छ । राजमार्गलाई चुस्तदुरुस्त राख्नका लागि साँघुरा सडकलाई फराकिलो तथा घुम्तीहरुमा कटिङका कामहरु भइरहेको बताएको छ ।

सडकको स्तर कमजोर र शहरी क्षेत्रमा साँघुरा सडक तथा सडक नजिकै संरचना बनाउने प्रवृत्तिले पनि दुर्घटना बढेको हो । सडक निर्माणसँगै सडक दुर्घटनालाई न्यूनीकरण गर्ने गरी काम गर्न सरकारलाई नागरिक समाजको सुझाव छ ।

चालकको लापरवाही र सडकको कमजोर अवस्थाका कारण कर्णाली प्रदेशमा मात्र हैन देशभर नै दुर्घटनाको संख्या बढेको छ । पछिल्लो समय यातायातको सहज पहुज पुर्‍याउने उद्देश्यले जथाभावी सडक ट्र्याक पनि दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निश्कर्ष छ ।

दुर्घटनादरमा न्यूनीकरण गर्न ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि सडक दुर्घटनामा भने कमी आएको छैन् । मुगु र सल्यानमा ठूलो मानवीय क्षतिसहित भएको दुर्घटनाले पनि यो ६ महिनाको तथ्याङ्क बढाएको हो । दुर्घटनाको कारणका विषयमा फरक निकायले आफू पन्छिएर अरुलाई आरोप लगाउने गरेका छन् । यद्यपि आआफ्नो गल्ती स्वीकार गर्दै दुर्घटनाको जोखिम घटाउने विषयमा कसैको ध्यान गएको देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *