आज देशभर मौसम बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
११ माघ २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली रहने जनाएको छ ।
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले देशभर आज मौसम बदली रहने भएकाले चिसोबाट बच्न आग्रह गरेको छ ।
प्रतिक्रिया