अत्यधिक चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

हिमालय टिभी
२०७८ माघ ४ गते ६:२७
अत्यधिक चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

४ माघ २०७८ मलंगवा । अत्यधिक चिसो र हुस्सुका कारण यहाँको जनजीवन प्रभावित बनेका छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो ।

घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन् ।

हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर गुड्नुपरेको छ । मौसममा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी सर्लाहीले आग्रह गरेको छ ।

अत्यधिक चिसोका कारण यहाँका वृद्ध, बालबालिका, गरिब विपन्न परिवारका व्यक्ति बढी प्रभावित भएका छन् । चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर पनि समस्यामा परेका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ ।

चिसोबाट जोगिन अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कन, घरभित्रै बस्नुपर्ने, सावधानीपूर्वक आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडा लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *