समाज

रोल्पामा घरबगैंचाको अवधारणाः थोरै बारीमा धेरै तरकारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २१ गते १८:४४
रोल्पामा घरबगैंचाको अवधारणाः थोरै बारीमा धेरै तरकारी (भिडियो रिपोर्टसहित)

२१ पुस २०७८ रोल्पा । रोल्पाको सुुनिलस्मृति गाउँपालिका महिलाहरुले घरबगैंचा सञ्चालन गरेका छन् ।

घरबगैंचा सञ्चालन भएपछि थोरै जग्गामा धेरै थरिका तरकारी, मसलाबाली र जटिबुटि उत्पादन भएको छ । तरकारीबाट आत्मनिर्भर हुँदै महिलाहरुको आयआर्जनको माध्यम समेत घरबगैंचा बनेको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ धारापानी की २९ वर्षीया पिमा थापा घरबगैंचामा व्यस्त हुनुहुन्छ । पहिले पहिले घाँस दाउरा र घरायसी काममा व्यस्त रहने पिमा पछिल्लो एक वर्षदेखि तरकारी, मसलाबाली, फलफूल, जडिबुटीसँगै कुखरा र बाख्रा पाल्दै आउनु भएको छ ।

परिवर्तन स्वावलम्बन महिला समूह गठन भएपछि उहाँले घरबगैंचा सम्बन्धि तालिम लिनुभयो र आफ्नो करेसाबारीमा खेती शुरु गर्नुभयो । अहिले घरबगैंचामा थरिथरिका तरकारी फलेका छन् । प्राङ्गारिक झोल विषादी र मलको प्रयोग गरेर खेती गरिन्छ ।

पिमा मात्र होइन, अहिले त्यहाँका हरेकजसो घरका महिलाको दैनिकी यस्तै छ । घरबगैंचाभित्र तरकारी, फलफूल, जडिबुटी, डालेघाँस र पशुपन्छीको व्यवस्थापन जस्ता कुराहरु पर्दछ । यसबाट धेरै उत्पादन लिन सकिने, मिश्रित खेती प्रणाली र घर वरपरको सौन्दर्यतासमेत बढेको छ ।

घरबगैंचा कार्यक्रम सञ्चालन भएपछि जुठेल्नोको पानीको पनि सदुपयोग भएको छ । भाडा माझेको पानीलाई एउटा पोखरीमा जम्मा गरिन्छ । त्यही पानी करेसाबारीमा प्रयोग गरिन्छ । टनेल र थोपा सिचाइँको माध्यमबाट बाह्रै महिना तरकारी खेती हुन्छ ।

यहाँ थोरै जग्गा हुनेले पनि धेरै थरिका तरकारी उत्पादन गरेका छन् । यसले शुद्ध तरकारी खान पाउने त छँदैछ, आम्दानीको श्रोत समेत बनेको छ । उत्पादन भएको तरकारी नजिकैको बजारमा लगेर बचिन्छ ।

यो समूहले त्यहाँका महिलालाई सक्रिय समेत बनाएको छ । उनीहरु समूहगत छलफल गरेर नयाँ योजना बनाउँछन् । यसले महिला सशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको उनीहरुको अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *